परदेशमा अरुकाे ‘अन्डर’ मा काम गर्नुभन्दा स्वदेशमा उद्यम गरी आफैँ ‘मालिक’ बन्नु बेस

कृषि पोष्ट संवाददाता

३ फाल्गुन, लमजुङ ।

धन कमाएर जीवनस्तर उकास्ने आशामा विदेशतर्फ पाइलाहरु मोडिए, अनिष तामाङको । उहाँकाे पाँच वर्ष खाडीमै बिते । मलेसियामा तीन वर्ष र कतारमा दुई वर्ष उहाँले श्रम–पसिना बगाउनुभयो । परदेशको ठाउँ । कमाइ राम्रै भए तापनि दुःख ज्यादा । हरपल, हरक्षण गाउँघर, घर– परिवारको मायाले सताइरह्यो ।

विदेशमा अरुको ‘अण्डर’ मा बसी अरुकै ‘अर्डर’मा काम गर्नुपर्ने । दुःख गर्नुपर्ने । खाडीमै रहँदा परदेशमा बगाउने पसिना देशकै माटोमा बगाउन सके, स्वदेशमै बसी राम्रो कमाउन सकिने आशा उहाँको मनमा पलायो । विदेशको भूमिमा छँदै, ‘गाउँ फर्की केही कृषि उद्यम गर्ने’ सपना बन्नुभयो, लमजुङ राइनास नगरपालिका–५, तीनपिप्लेका अनिष तामाङले ।

त्यसपछि, विदेश छाडी स्वदेशमै कृषि उद्यम गर्ने सपनालाई पछ्याउँदै उहाँ आफ्नै गाउँ फिर्ती हुनुभयो । ‘पाँच वर्ष विदेशमै बिताइयो,’ उहाँले भन्नुभयो, ‘अरुको देशमा कति बस्नु, दुःख गर्नु भनेर श्रम, पसिना गाउँघरमै बगाउन परदेशको जागिर छोडी घर आइयो ।’

‘फापेन’ कुखुरा पालन : लगत्तै सुरु भयो बङ्गुर पालन

गाउँ आएसँगै उहाँले परिवारकै सल्लाहमा लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेखोलामा रहेकाे बेलाउँते फाँटमा एक हजार कुखुरा अट्ने क्षमताको खोर बनाइ त्यही सङ्ख्यामा ब्रोइलर कुखुरा पनि पाल्नुभयो ।

सुरुमै थालनी गरिएकै व्यवसायबाट राम्रो आम्दानी भने हुन सकेन । तर हार भने मान्नुभएन, उहाँले । ‘विदेशबाट फर्की गाउँघरमै केही गरौँ भनी कुखुरा त पालियो । तर राम्रो आम्दानी भएन,’ उहाँले भन्नुभयो।

कुखुरा पालनबाट आशा गरिए अनुरुप आम्दानी नभएपछि उहाँले बङ्गुर पालन गर्ने योजना बनाउनुभयो । साथीभाइले पनि बङ्गुर पालन गर्न उहाँलाई उक्साए । बङ्गुर पालनसम्बन्धी उहाँलाई कुनै ज्ञान, सिप नै थिएन । बङ्गुर पालन गरिरहेका, बङ्गुर पालनका विषयमा जाने–बुझेकासँग उहाँले यस व्यवसायका बारेमा जानकारी लिनुभयो । व्यवस्थित बङ्गुर फर्मको प्रत्यक्ष अवलोकन पनि गर्नुभयो, अनिषले ।

दुःख गर्न सके थोरै समयमा, उच्च प्रतिफल लिन सकिने व्यवसाय लाग्यो उहाँलाई, बङ्गुर पालन व्यवसाय । त्यसपछि, उहाँको मन बङ्गुर पालन व्यवसायमा तानियो । लगत्तै उहाँले बेलाउँते फाँटमै बङ्गुरको व्यवस्थित खोर बनाइ दश वटा बङ्गुरबाट व्यवसायको थालनी गर्नुभयो । ‘खोर निर्माण, बङ्गुर खरिदमा गरी सुरुमै छ लाख लगानी भयो,’ उहाँले भन्नुभयो । गएकाे वर्षबाट उहाँले बङ्गुर पाल्न सुरु गर्नुभएको हो ।

३५ लाख रुपैयाँभन्दा बढी लगानी

अहिले उहाँको बङ्गुर फर्ममा साना ठूला गरी पचास वटा बङ्गुर छन् । फर्ममा अहिलेसम्म ३५ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । ‘सुरुको वर्ष भएकाले पनि लगानी बढ्दो छ । ३५ लाखभन्दा बढी त लगानी भइसक्यो,’ उहाँले भन्नुभयो, ‘बिस्तारै उत्पादन हुन थालेको छ । अब राम्रो आम्दानी हुने विश्वास छ ।’

उहाँले मासु बिक्रीका लागि भन्दा पनि बङ्गुरका पाठापाठी उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिनुभएको छ । उहाँका अनुसार मासुमा भन्दा पनि पाठापाठी बिक्री गर्दा किसानलाई फाइदा हुन्छ । ‘त्यसैले मासुमा भन्दा पनि पाठापाठी उत्पादन गरी बिक्री गर्ने योजना छ,’ उहाँले थप्नुभयो ।

बङ्गुर पालक किसान तामाङका अनुसार एक वर्षमा बङ्गुर तीन पटक ब्याउँछ । ४५ दिनमा बङ्गुरको पाठापाठी बिक्रीका लागि तयार हुन्छन् ।

‘फर्मबाट बिस्तारै उत्पादन सुरु हुन थालेको छ । फर्ममा छ वटा माउ बङ्गुर रहेको छ । उत्पादित बङ्गुरको पाठापाठी बिक्रीबाट पहिलो चरणमै साढे तीन लाख हाराहारीमा आम्दानी हुने आशा छ,’ उहाँले भन्नुभयो। उत्पादन घरगाउँमै बिक्री हुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

बिस्तारै माउ बङ्गुरको सङ्ख्या बढाउँदै लैजाने, धेरै मात्रामा बङ्गुरका पाठापाठी उत्पादन गरी बिक्री गर्ने उहाँको सोच छ । उहाँले बङ्गुरका लागि स्थानीयस्तरमै उपलब्ध धान, मकै, भटमास पिसेर दाना बनाइ आहारा व्यवस्थापन गर्नुभएको छ । फर्म वरपर रहेका मेवा, फर्सी पनि बङ्गुरको आहारामा उपयोग हुँदै आएको छ । फर्ममा केही मात्रामा चोकर पनि खरिद हुने गरेको छ ।

घाम उदायदेखि अस्ताएसम्म उहाँ बङ्गुरकै रेखदेखमा खटिनुहुन्छ । फर्ममा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दश रोपनी जग्गामा फैलिएको फर्ममा हाँस, टर्की पनि पालिएका छन् । बङ्गुर फर्म सरसफाइका लागि चेपेखोलाको पानी मोटरले तानी फर्मसम्म ल्याइएको छ । बिस्तारै एक सय पचास हाराहारीमा बङ्गुर पाल्ने सोच रहेको उहाँले बताउनुभयो ।

व्यवस्थित र व्यावसायिक रुपमा बङ्गुर पाल्दा फाइदा

बङ्गुर पालन गर्दा व्यवस्थित खोर बनाउनुपर्ने, उन्नत जातका बङ्गुर पाल्नुपर्ने, सरसफाइ, उचित आहारा व्यवस्थापनमा ध्यान दिनुका साथै बङ्गुरमा निमोनिया, ज्वरो, खोरेत लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसमा पनि उतिक्कै ध्यान दिनु जरुरी हुने किसान तामाङ सुझाउनुहुन्छ ।

उहाँका अनुसार यी कुराहरुमा ध्यान दिइ व्यवस्थित र व्यावसायिक रुपमा बङ्गुर पाल्न सके राम्रो आर्जन हुन्छ । उहाँका अनुसार परदेशमा दुःख ज्यादा हुन्छ । ‘परदेशमा गाह्रो छ नि । अरुको ‘अण्डर’ मा बसी अरुकै ‘अर्डर’मा काम गर्नुपर्छ, त्यो भन्दा त स्वदेशमै आफैँ मालिक भइ काम गर्नु जाती !’ उहाँले भन्नुभयो ।

‘विदेशमा आर्जित सिप र विदेश जाने पैसा यहीँको उद्यममा खर्चि‌औँ’

अहिले पनि छाना, माना र नानाका लागि विदेश भासिनेको सङ्ख्यामा कमी आएको छैन । श्रम–पसिना बगाउन सके यहीँ उद्यम गरी जीवन चलाउन सकिन्छ ।

‘विदेशमा सिकेको ज्ञान, सिप गाउँमै फर्की यतैको माटोमा खर्चन सके, ब्याजमा ऋण खोजी परदेश जाने पैसा गाउँघरकै कृषि उद्यममा लगाउन सके, दत्तचित्त भइ निरन्तर रुपमा कृषि उद्यममा जुट्न सके यहीँ राम्रो कमाइ जीवनस्तर उकास्न सकिन्छ,’ विदेश पसेका, परदेश जान खोजेका युवाहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ।

श्यामशितल परियार
श्यामशितल परियार उज्यालो अनलाइनकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏