माछामा लाग्ने आर्गुलोसिस रोगको रोकथाम तथा उपचार प्रविधि

कृषि पोष्ट संवाददाता

परिचय

नेपालको तराई, भित्री मधेस तथा मध्य पहाडी भेगका न्यानो पानीमा गरिने सघन मत्स्य पालनमा कार्प जातिका माछाहरूको मुख्य भूमिका रहेको छ्। बढी उत्पादनका लागि सघन मत्स्य पालनमा माछाको उच्च घनत्व राखी मलखाद तथा दानाको अधिकतम प्रयोग गरिन्छ । यस प्रकारको व्यवस्थापनबाट माछाको उत्पादकत्व बढी हुने भए तापनि उत्पादन सामग्रीको बढी प्रयोगले पोखरीमा पानीको गुणस्तरमा ह्रास आउने प्रवल सम्भावना रहन्छ ।

पानीको गुणस्तरमा ह्रास, माछाको उच्च घनत्व तथा मौसम परिवर्तनले पोखरीमा पालिएका माछाहरू निरन्तर तनाव ९क्तचभकक० मा आई रोग तथा परजीवीबाट सङ्क्रमित हुने गर्दछन्। माछाको जुम्राको सङ्क्रमणबाट हुने आर्गुलोसिस रोग सघन मत्स्य पालनमा एउटा प्रमुख समस्याको रूपमा रहेको छ । यस रोगको विषयमा मत्स्य पालक कृषकहरू चनाखो हुनुपर्दछ । आर्गुलोसिस रोगबाट माछाहरू सङ्क्रमित भएको अवस्थामा कार्प माछाको उत्पादनमा कमी हुनाका साथै अत्यधिक मृत्यु हुने सम्भावना हुन्छ । तसर्थ यस रोगबाट हुने हानीनोक्सानीबाट बच्न तथा माछापालन व्यवसायबाट अधिकतम लाभ लिनका लागि यस रोगको पहिचान तथा नियंत्रणका उपायबारे ज्ञान राख्नु जरुरी छ ।

बाह्य परजीवी आर्गुलसको जानकारी
बाह्य परजीवी आर्गुलसको माछामा सङ्क्रमण भएमा आर्गुलोसिस रोग हुन्छ । आर्गुलसलाई माछाको जुम्रा पनि भनिन्छ । आर्गुलस परजीवी अण्डाकार, अर्धपारदर्शी, फिका हरियो वा फिका खैरो रङका हुन्छन् । शरीरको माथिल्लो तथा तल्लो भाग चेप्टो हुन्छ । यस परजीवीले माछाको शरीरको तरल पर्दाथ तथा रगत आहाराको रूपमा ग्रहण गर्दछ । आर्गुलसको पोथी माउले पानीमा रहेका विभिन्न जलीय झारपात, ढुङ्गा, बाँस, काठ इत्यादि वा पोखरीको पिँध वा पानीको बिचको समथर सतहमा १४–१६ डि. से. तापक्रममा फुल पार्दछन् । गर्भित् फुल लाम्चिलो (०.२–०.६ मि.मि.) आकारको हुन्छ ।

एउटा पोथीले २०–३०० फुलहरू रहेका धेरै झुप्पाहरू पङ्तिबद्ध रूपमा एक पटकमा पार्दछ् । यी फुलहरूबाट लार्भाहरू कोरलिई वयष्क भएपछि आहाराको खोजीमा माछालाई सङ्क्रमित पार्दछन्। आर्गुलस परजीवीको सङ्क्रमणबाट माछामा देखिने लक्षण साधारणतया माछापालनको कमजोर व्यवस्थापन र प्रतिकूल वातावरण भएमा माछाहरू रोग– व्याधीसँग लड्न सक्दैनन्र रोगग्रस्त हुन्छन् । आर्गुलोसिस रोगको सङ्क्रमण हुनासाथ माछाको स्वभावमा प्रत्यक्ष फरक देखिन्छ ।
आर्गुलस सङ्क्रमित माछाहरूमा निम्न लक्षणहरू देखिन्छन्ः – सङ्क्रमित माछाहरू पोखरीको डिलतिर तथा पानीको माथिल्लो सतहतिर शिथिल तथा कमजोर अवस्थामा देखिन्छन्। सङ्क्रमित माछाको आहाराप्रति अरुचि हुन्छ ।

-रोगी माछा दुब्लो हुँदै जान्छन्फलस्वरूप शारीरिक तौल घट्दै जान्छ । -माछा रक्तअल्पता भई शरीरको रङ फिका हुन्छ (खुइलिन्छ) । -रोगी माछाको शरीरमा परजीवीको अत्यधिक सङ्क्रमण भएमा शरीरबाट श्लेस्म पदार्थ – (म्युकस) को अत्यधिक स्राव हुन्छ । -माछाको शरीरमा जताततै रातोपना (रगतका मसिना टिकाहरू) देखिन्छ र अत्यधिक सङ्क्रमित माछाको शरीरमा स–साना पिनको टुप्पा आकारको घाउ हुन्छ । -रोगी माछाले आफ्नो शरीर पोखरीको डिलतिर घस्रन्छ र अधिक सङ्क्रमित माछा पानीमा उफ्रिएर आफ्नो अङ्गबाट परजीवी हटाउन खोज्दछन्। – आर्गुलस परजीवीको अत्यधिक सङ्क्रमण भएमा रोगी माछाहरूको शरीरको सन्तुलन बिग्रन्छ, फलस्वरूप असुन्तलित रुपले पौडिन्छन् र केही रोगी माछाहरू उत्तानो पल्टेको अवस्थामा समेत देख्न सकिन्छ ।

-सङ्क्रमित माछाको पखेटा तथा शरीरका कत्लाहरू झर्न सक्छन् । – सङ्क्रमित माछाको क्याकीं, अपरकुलम, टाउको, शरीर, पखेटा तथा पुच्छरमा परजीवी टाँसिएको देख्न सकिन्छ ।

माछामा आर्गुलोसिस रोग लाग्ने कारणहरू कार्प माछामा आर्गुलस परजीवीको सङ्क्रमण निम्न अवस्थामा हुने सम्भावना रहन्छः
– मौसममा हुने परिवर्तन तथा पानीको गुणस्तरमा ह्रास भएमा । – पोखरीको पानी धैरै पुरानो भएको अवस्थामा र पानी फेर्ने सुविधाको अभावमा । – माछाको घनत्व बढी भएमा । – माछाकोशारीरिक तौलअनुसारकोपर्याप्त सन्तुलित पोषकतत्वयुक्त आहाराको कमी भएमा । – माछा दुर्बल÷कमजोर भएमा ।

– पोखरीको पानीमा घुलित अक्सिजनको मात्रा लामोसमयसम्म कम भएको अवस्थामा । – आर्गुलसबाट सङ्क्रमित माछाहरू सोझै पोखरीमा स्टक गरिएको अवस्थामा । – पोखरीमा प्रवाहित गरिने पानीको स्रोतमा सङ्क्रमित माछा वा भ्यागुताहरू रहेको अवस्थामा । -सामान्यतया वयष्क माछा रोग फैलाउने साधनको रूपमा रहन्छन्, त्यस कारण वयष्क तथा शिशु माछाहरू पोखरीमा सँगै राखिएको अवस्थामा हुर्कउला शिशु माछाहरू यस परजीवीबाट तुरुन्त सङ्क्रमित हुनु सक्दछन्।

आर्गुलस परजीवीको रोकथामका उपायहरू
आर्गुलस परजीवी नियन्त्रणका लागि निम्न तरिकाहरू एकीकृत रूपमा अपनाउनुपर्दछ: – सङ्क्रमित पानीलाई स्वच्छ पानीद्वारा कम्तीमा ५०% विस्थापित गर्नुपर्दछ । – रोगजनक परजीवी तथा त्यसका विभिन्न अवस्थाका लार्भाहरू तथा गर्भित फुलहरू हटाउन प्रत्येक वर्ष नर्सरी तथा उत्पादन पोखरी अनिवार्य रूपमा पूर्णतया सुकाउनु पर्दछ, तत्पश्चात पोखरीमा पानी भर्नु ७ दिनअघि चारैतिर ५०० केजी चुन प्रतिहेक्टर छर्किनुपर्दछ ।

– पोखरीमा पानी सुकाउन नमिल्ने अवस्थामा यी परजीवीहरूलाई नियन्त्रण गर्न विसङक्रमक औषधिको प्रयोगद्वारा पोखरीलाई परजीवी मुक्त गर्नुपर्दछ ।- पोखरीमा पानीको उपयुक्त गुणस्तर (मुख्यतया आक्सिजन, पी. एच. र अमोनियाको स्तर) कायम राख्नुपर्दछ । – एउटा सङ्क्रमित माछाबाट अर्को स्वस्थ माछामा तथा पानीद्वारा समेत परजीवीको सङ्क्रमण बढ्ने हुँदा सङक्रमक पोखरीमा स्टक माछाको घनत्व कम गर्नु पर्दछ ।

-पोखरीमा जंगली तथा रोग सङ्क्रमित माछाको प्रवेश रोक्न पानीको प्रवेशद्वारमा जाली राख्नुपर्दछ । -माछा पोखरीमा राख्नुअघि २–३ % नुनपानीमा ३० देखि ६० सेकेन्ड जति राखी विसङ्क्रमित गर्नुपर्दछ । – पोखरीको ठाउँ ठाउँमा लामो बाँसको खम्बा पानीमा वारपार डुब्ने गरी राख्ने र भोलि पल्ट उक्त खम्बा घाममा सुकाएमा खम्बामा टाँसिएका आर्गुलसका फुलहरू नष्ट गर्न सकिन्छ ।

आर्गुलस सङ्क्रमित माछाको उपचार
– पोखरीमा १५ पी. पी. एम. फर्मालिन प्रयोग गर्न सकिन्छ । भन्नाले१०० लिटर पानीमा १.५ एम एल फर्मालिन प्रयोग गर्न सकिन्छ । गर्मीयाममा यसको प्रयोगबाट पानीमा अक्सिजनको कमी हुन सक्ने भएकाले फर्मालिन राख्नुपूर्व पोखरीमा स्वच्छ पानी राख्ने पूर्ण व्यवस्था गर्नुपर्दछ । फर्मालिनको प्रयोग गरेको २४ घण्टापछि पोखरीमा स्वच्छ पानी लगाई सङ्क्रमित पानी विस्थापित गर्नुपर्दछ । फर्मालिन उपचारको एक हप्ता अघि र पछि पोखरीमा गोबर प्रयोग गर्नुहुँदैन ।
– सङ्क्रमित माछालाई २–३% नुन पानीमा (२० देखि ३० ग्राम नुन प्रतिलिटर पानी) ३० देखि ६० सेकेन्ड राखी उपचार गर्न सकिन्छ ।

– ड्युरोक्लिन ०.३ ग्राम÷केजी माछाको आहारामा मिसाई लगातार ३ दिन दिने तत्पश्चात १ दिन बिराई पुनः दुई दिन खुवाउँदा कार्प माछामा यस परजीवीको अत्यधिक सङ्क्रमणलाई नियन्त्रण गर्न सकिन्छ । ।

ध्यान दिनुपर्ने महवपूर्ण कुराः
माछाको स्वास्थ्य सम्बन्धी कुनै समस्या आइपरेमा तुरुन्तै मत्स्य प्राविधिकसँग सम्पर्क राख्नुपर्दछ । रासायनिक पदार्थको प्रयोग उपचारार्थ गर्नु परेमा ५–१० वटा रोगी माछा भिन्दै सानोपोखरीमा राखी परीक्षण गर्नु उपयुक्त हुन्छ । उपचारको लागि कुनै पनि रसायनको प्रयोग गर्नुपरेमा सम्बन्धित प्राविधिकको निर्देशन वा उपस्थितिमा मात्र गर्नुपर्दछ । अन्यथा दुर्घटना हुन सक्छ । प्राविधिक सहयोगका लागि नजिकको मत्स्य अनुसन्धान केन्द्र वा मत्स्य विकास केन्द्रमा सम्पर्क गर्नुपर्दछ ।

स्रोत : राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, नार्क

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏