१२ बेमौसमी तरकारी: कुन तरकारी खेती कसरी गर्ने ?

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

एक सिजनको बाली अर्को सिजनमा लगाउनु बेमौसमी खेती हो । बजार र उपभोक्ताको चाहनाअनुसार मौसमी उत्पादन समयभन्दा केही समय अघि र पछि उत्पादन गर्ने पद्धति बेमौसमी खेती प्रणाली हो । कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउन बढी मूल्य जाने बालीहरूमा बेमौसमी तरकारी खेती पर्दछ । राम्रो आर्थिक लाभ प्राप्त गर्ने भएपछि पछिल्लो समय नेपालमा बेमौसमी तरकारी खेतीप्रति किसान आकर्षित हुँदै गएका छन् ।

बेमौसमी तरकारी खेतीका फाइदाहरू

मौसमी तरकारी वा अन्य बालीभन्दा प्रतिइकाई जमिनबाट बढी आम्दानी हुने । ताजा तरकारी सधैँ आपुर्ति हुने । रोजगारका अवसरहरू सृजना हुने । निर्यात सम्भावनामा बृद्धि हुने ।

बेमौसमी खेतीमा बढी आम्दानी लिएर खेतीको उत्पादन बढाउन मलखाद, बिउ, बिषादी आदि खरिद गर्न सकिने हुनाले बढी मूल्यमा तरकारी बिक्री गर्न सकिने ।

बेमौसमी तरकारी खेतीका लागि पूर्वतयारी

सिंचाइको भरपर्दो ब्यवस्था। यातायातको राम्रो ब्यवस्था। सुहाउँदो हावापानी भएको ठाउँको जमिन छनौट तथा उपयोग। बेमौसमी तरकारीका उपर्युक्त जातहरूको उपलब्धता ।

बेमौसमी तरकारी खेतीका तरीकाहरू, विरुवा प्रदायक र प्रविधिबारे जानकारी । बजार ब्यवस्थापनको लागि बाली काटने तरिका, ग्रेडिङ, पेकिङ्, ढुवानी सम्बन्धी ज्ञान ।

त्यस्तै, कुन बाली लगाउने, कति क्षेत्रफलमा लगाउने, कसरी लगाउने, कहिले लगाउने, कहाँबाट प्राविधिक सहयोग पाउने, कहाँबाट मल, बिउ विषादी प्राप्त गर्ने, कहाँ गएर बिक्री गर्ने र लागत खर्च र आम्दानीको जानकारी लिनुपर्दछ ।

बिउ, बेर्ना ,रोपनी, जमिनको नाप (कठ्ठा) को जानकारी, दुरी लाइनदेखि लाइन, बोटदेखि बोट, आवश्यक मलखाद (गोवरमल, युरिया, डि.ए.पी.,म्युरेट अफ पोटास)

उत्पादन महिना पहाड–तराई बारे पनि कृषकले जानकारी राख्नुपर्दछ ।

बेमौसमी तरकारी खेतीमा उच्च प्रविधिको आवश्यकता हुन्छ । रोग किराको संक्रमणको जोखिम भएकोले निरन्तर हेरचाह गर्नुपर्छ । धेरै लगानी लाग्ने भएकोले यो बाली व्यवसायिक रूपमा मात्रै गर्न सम्भव हुन्छ र बजारीकरणको राम्रो व्यवस्था पनि हुनुपर्छ ।

बेमौसमी खेती गर्ने तरिकाहरू

विभिन्न सतहको हावापानी अनुकुल तरकारी रोप्ने बाली लगाउने समय पृथकता (१५–२० दिन अघि–पछि) जातिय बिबिधता (अगौटे, मध्यम र पछौटे जातका तरकारीहरूको छनोट)

बेमौसममा पनि अनुकुल वातावरणको सिर्जना (प्लास्टिक टनेल, प्लास्टिक घर, नेचुरल्ली भेन्टिलेटेड प्लास्टिक घर, नियन्त्रित प्लास्टिक घर)

बेमौसमी तरकारी उत्पादन गर्ने बिभिन्न प्रबिधिहरू

खेती गर्ने बालीको जातको छनोट । खेती गर्ने मौसमको छनोट तथा हेरफेर । खेती गर्ने स्थानको छनोट, परिवर्तन तथा हेरफेर । खेती गर्ने समयको फेरबदल । प्लाष्टिक गुमोज, टनेल, घर तथा छाप्रोको प्रयोग गरी बेर्ना तयार गर्ने तथा उत्पादन गर्ने ।

ग्रीन हाउस निर्माण (प्लाष्टिक वा सिसाको घर) गर्ने । हाइड्रोफोनिक प्रविधिको प्रयोग गर्ने । प्रतिकुल मौसममा बेर्ना उत्पादन गर्ने सरल तरिकाहरू

क) प्लाष्टिकको गुमोजभित्र बेर्ना कसरी उमार्ने ?

१ मिटर लम्बाई, १५ सेन्टिमिटर उचाई र आवश्यकता अनुसारको लम्बाई भएको ब्याड तयार गर्नु पर्दछ । राम्ररी खनजोत गरी माटो धुल्याउने र राम्ररी पाकेको कम्पोष्ट मल वा प्राङ्गारिक मल मिसाउनु पर्दछ ।

यसरी तयार गरिएको ब्याडमा चौडाईतिर २–३ इन्चको फरकमा रेखा कोरी १ इन्च गहिरो धर्साहरू बनाउनुपर्दछ। धर्साहरूमा एक नासले पर्ने गरी बिउ खसाली बिउलाई मसिनो माटो, बालुवा वा मल माटोको मिश्रणले पुरी हलुकासँग हत्केलाले थिच्नु पर्दछ ।

बिउ छरेपछि ब्याडलाई पराल वा गहुँको नलले वा सुकेको खरले छोपी ब्याड भिज्ने गरी पानीले सिचाई गर्नु पर्छ ।

ख) ब्याडमाथि प्लाष्टिकको गुमोज कसरी बनाउने ?

ब्याडको गुमोजको लागि लगभग १.५ मिटर लामो बाँसको भाटाहरू चाहिन्छ ।

बाँसको भाटाको एक टुप्पोलाई ब्याडको चौडाईको एकतर्फ गाड्ने र भाटाको अरु भागलाई नुगाएर ब्याडमाथि अर्ध बाटुलो हुने गरी ब्याडको चौडाईको अर्को भागमा पहिलो टुप्पो गाडेको ठिक सिधा अगाडी पर्नेगरी अर्को टुप्पो गाड्नुपर्दछ ।

यसरी व्याडको लम्बाई अनुसार बाँसका भाटाहरू ब्याड माथि ३–३ फिटको फरकमा गाड्दै जानु पर्दछ ।

बाँसका भाटाहरू गाडी सकेपछि भाटा माथि प्लाष्टिकले छोपी प्लाष्टिको दुबै छेउ ब्याडको तल्लो भाग जमीनसम्म ल्याउनुपर्दछ र माटोले हावा नछिर्ने गरी प्लाष्टिकको किनारलाई थिच्नु पर्दछ ।

तयार भैसकेको ब्याडलाई राम्रो हेरचाह गर्नु पर्दछ । बिउ उम्रन थालेपछि ब्याडमा छोपिएको पराल वा छ्वाली वा खर हल्का तवरले हटाउनु पर्दछ ।

बेर्नाहरूमा बिहान बेलुकी पानी दिने, गोडमेल गर्ने र रोग किराको प्रकोप हुन नदिन रोग तथा कीटनाशक बिषादी छर्नुपर्दछ ।

प्लाष्टिक गुमोजका फाइदा ब्याडको तापाक्रम बढाउँछ । बेर्नालाई ठण्डी, तुषारो र बर्षा आदिबाट बचाउँछ ।

ठण्डीको समयमा परालको सुकूल वा गुन्द्रीले प्लाष्टिकले छोपिदिँदा बढी फाइदा हुन जान्छ ।

बिहान घाम लागेपछि प्लाष्टिकको केही भाग हटाई दिने र बढी ठण्डी भएमा तथा पानी परेमा फेरि प्लाष्टिकले ब्याडलाई छोपिदिनुपर्दछ । रातमा ब्याडबाट कहिल्यै प्लाष्टिक हटाउनु हुँदैन । बर्षातको बेला ब्याडमा बेर्ना बढिसकेपछि स्थायी रूपले प्लाष्टिक हटाउनु उपयुक्त हुन्छ । अन्यथा ब्याडमा राम्ररी प्रकाश पर्न सक्ने गरी छाप्रोको व्यबस्था गर्नु पर्दछ ।

काठको बाकसमा बर्ना कसरी उमार्ने ? हलुका खालको काठबाट बाकस बनाउनुपर्छ । बाकस २ फिट लामो, १ फिट चौडाइ र ४ इन्च गहिरो हुनु पर्दछ ।

यसको तल्लो भागको पिंधमा पानी निकासको लागि स-साना ४-५ वटा प्वालहरू पार्नु पर्दछ ।

तयार भएको बाकसमा जङ्गलको माथिल्लो सतहको माटो वा पुरानो पोखरीको माटो वा खेत बारीको आली कान्लाको मलिलो माटो २ भाग, राम्ररी कुहिएको वा पाकेको गोबर मल २ भाग र बालुवा १ भाग (बलौटे माटो भएमा बालुवा मिसाउनु पर्दैन) राम्ररी मिसाई बाकसको माथिल्लो भाग एक डेढ इन्च जति खाली राखी मल माटोको मिश्रणले बाकस भर्नु पर्दछ ।

यसरी मल माटोले भरीसकेपछि बिउ छर्ने र सुकेको गहुँको नल वा पराल वा खरले छोपी दिनु पर्दछ । जाडो याममा छ भने प्लाष्टिकले हावा नछिर्ने गरी टम्म पारेर छोपी दिने र दिनमा घाम लाग्ने ठाउँमा राखी दिनु पर्दछ र रातमा घरभित्र वा ओसिलो ठाउँमा बाकस राख्नु पर्दछ ।

बाकस ओसिलो ठाउँमा राख्नुपर्दछ । बिउ उम्रन थालेपछि बाकसबाट प्लाष्टिक वा पराल वा छ्वाली हटाउनुपर्छ । त्यसपछि तुरुन्तै प्रतिलिटर पानीको दरमा ३ ग्राम क्याप्टेन वा डाइथेन एम ४५ वा बेभिस्टीन ढुसीनासक बिषादी मिलाई स्प्रे गर्नु (छर्नु) पर्दछ । यी ढुसी नासक बिषादीले बेर्नाहरू ढल्ने, जरा, पात र डाँठमा लाग्ने बिभिन्न प्रकारका रोगहरूबाट बेर्नाहरू बचाउन मद्दत गर्दछ ।

प्लाष्टिकको थैलामा बर्ना कसरी उमार्ने ?

बाकसको लागि प्रयोग गरिने जस्तैः गरी मल, माटो र बालुवाको मिश्रण बनाई ४–६ इन्चको प्लाष्टिकको थैलामा भर्नु पर्दछ । थैलाको तल्लो भागमा पानी निकासको लागि स-साना प्वालहरू बनाएको हुनु पर्दछ ।

बिउ लगाइएको प्रत्येक थैलामा बिउ नउमे्रसम्म पानी पटाइरहनुपर्छ । यस्ता थैलाहरू ठण्डी तथा तुषारोबाट बचाउनको लागि गुमोजभित्र वा रातमा घरभित्र न्यानो ठाउँमा राख्नु पर्दछ । तर घाम लागेको बेला तुरुन्तै बाहिर निकाल्नु अति नै जरुरी हुन्छ ।

गुमोजभित्र राखिएको भए घाम लागेको बेलामा प्लाष्टिकको केही भाग खोल्नु अति आवश्यक हुन्छ ।

घाम लागेको समयमा खोलिएन भने बेर्नाहरू सबै ओइलाएर मर्दछन् अनि घरभित्रै राखिरह्यो भने प्रकाशको अभावमा बिरुवाले प्रकाश संश्लेषण क्रिया गर्न नपाई पहेँलिएर मर्दछन् ।

बर्षा मौसममा बर्ना सार्दा भुल्न नहुने कुराहरू

बर्षा बेर्नाहरू भिरालो जमिनबाहेक अन्य ठाउँमा खेती गर्दा ड्याङ्ग बनाई सार्नु पर्दछ । बर्षातको समयमा बेर्ना सार्ने बित्तिकै बेर्नाको वरीपरी सुकेको घाँस, झारपात तथा परालले छापो (मल्चिङ) दिनुपर्दछ ।

बर्षा मौसममा बढी मात्रामा किराहरूले आक्रमण गर्ने भएकोले बेर्नाहरू सार्नु भन्दा अगाडि मालाथिन धूलो १ के.जी.प्रति रोपनीको दरमा माटो उपचार गर्नु पर्दछ ।

बेर्नामा लाग्ने कीराहरूको लागि नुभान बिषादी २ एम.एल.प्रति लिटर पानीको दरमा घोल बनाई छर्नु पर्दछ ।

कीरा नियन्त्रणको लागि १ के.जी. गहुँको पीठो, २०० ग्राम चिनी वा सखर, ५० ग्राम मालाथिन वा अल्ड्रीनको धूलो, खाने तेल २ चिया चम्चा सबै एकै ठाउँमा मिसाई मिश्रण बनाउने र यि नै मिश्रणलाई बिषादीको रूपमा चारा बनाई ठाउँ ठाउँमा राखी दिनु पर्दछ ।

ठण्डी मौसमको बेला बेर्ना सार्दा ध्यान दिनुपर्ने कुराहरू

ठण्डी मौसममा बेर्ना सार्दा बेर्नाको वरिपरी सुकेका घाँस, झारपात तथा परालले छापो दिनु राम्रो हुन्छ ।

ठण्डी मौसममा बेर्नाहरू सारीसकेपछि ठण्डी वा तुषारोबाट बचाउन १० इन्च चौडा १५ इन्च लम्बाई भएको प्लाष्टिक थैलाले स–साना बाँस वा अन्य छेस्काको सहयोगबाट बेर्नालाई पुरै ढाकी छोप्न सकिन्छ ।

यसरी छोप्ने प्लाष्टिकको माथिल्लो भागमा प्वालहरू बनाउन जरुरी हुन्छ ।

घाम लागेको समयमा प्लाष्टिक हटाउन भुल्नु हुँदैन । घाम डुबेपछि पुनः बिरुवालाई बाधा नपुग्ने गरी छोपी दिनाले बेर्नाहरू छिटो बढ्छ र छिटै फल दिन सक्षम हुन्छ ।

स्नोबल काउली, कोपन हेगन बन्दा आदिको बेर्ना मंसिर–पौष महिनामा रोप्दा ठण्डीले बृद्धि बिकास ढिलो हुने हुन्छ । त्यसैले सम्भव भएसम्म बेर्नाको चारैतिर बाक्लो हुने गरी सुकेको खर वा परालको छापो दिन सकेको खण्डमा माटोमा तापाक्रम बढ्न गई सही ढङ्गबाट बिरुवाले खाद्य तत्त्व लिन सक्छ । यसले छिटो र बढी उत्पादन लिन सहयोग पुग्छ ।

पहाडी भेगतिर बेमौसममा तरकारी उत्पादन गर्नको लागि गोलभेडा, भन्टा, खुर्सानी, करेला, कांक्रो, सिमी, बोडी, घिरौंला, चिचिण्डा आदि मंसिर–पौषतिर रोप्ने गरिन्छ ।

बढी ठण्डीको कारण तथा बढी तुषारोले बेर्नाहरू बढ्न नसक्ने भएकोले माथि बताइएअनुसार १० इन्च × १२ इन्चको प्लाष्टिको थैलो बनाई स्थानान्तर गरिएको बेर्नाहरूलाई साँझतिर छोपि भोलिपल्ट बिहान घाम झुल्केपछि हटाउँदा बेर्ना छिटो बढ्न सक्छ ।

तरकारीको बेर्ना रोपिएको ठाउँमा बेर्नाहरू पुरै ढाकिने गरी प्लाष्टिकको टनेल वा प्लाष्किको घर निर्माण गरेर पनि ठण्डी तथा तुषारोबाट बचाई अग्रिम तरकारी बाली लिन सकिन्छ ।

१) गोलभेंडा खेती

गोलभेडा खेती उच्च र मध्य पहाडमा वर्षायाममा गरिन्छ भने खोंच र तराईमा हिउँदमा गरिन्छ । गोलभेंडाले धेरै तातो र चिसो दुबै खप्न सक्दैन ।

जातः एन.सी.एल. १, पुसा रुवी, मनप्रेकस् आदि ।

बिउः १० ग्राम प्रतिरोपनी । बेर्नाः २,०००–२,५०० बेर्ना प्रतिरोपनी ।

खेती गर्ने तरिका

३० से.मि गहिरो हुने गरी जग्गा खनजोत गर्ने । वर्षायाममा उँचो ड्याङ्ग र सुक्खा मौसममा होचो ब्याड बनाउनाले चिस्यान कायम रहन्छ । प्रतिरोपनी १२० डोको (करिब ३ मे. टन) राम्ररी पाकेको प्राङ्गारिक मल हाल्ने । एउटा खाल्डोमा एक मुठीको दरले खरानीसमेत हाल्नु राम्रो हुन्छ ।

यदि रासायनिक मलको प्रयोग गर्ने भएमा १० के.जी. डी.ए.पी. र ६ के.जी. म्युरेटअफ पोटास प्रतिरोपनीका दरले जग्गाको अन्तिम तयारी गर्दा हाल्नुपर्दछ ।
बेर्ना ४–५ पाते भएपछि बेलुकीको समयमा सार्ने । गोलभेंडा लगाएको ठाउँमा झार बढ्न दिनुहुँदैन । फल टिपेपछि गहुँत-पानीको झोल प्रतिबोट २५० मि.लि.(करिब आधा माना) फेदमा हाल्ने ।

बेर्ना सारेको ३–४ हप्तामा पहिलो र ६–७ हप्तामा दोस्रो थप मल १ चिया चम्चा युरिया प्रतिबोटको दरले रासायनिक मलको प्रयोग सकिन्छ । र मल हालेपछि माटोले पुरेर सिँचाइ दिनुपर्दछ ।

बिरुवा १५ देखि २० से.मी. अग्लो भएपछि मुण्टा चुँडेर २ वटामात्र हाँगा आउन दिनुपर्छ । फेरि ३५ देखि ४० से.मि. माथि टुप्पा चुँडेर १ बोटमा जम्मा ४ ओटा हाँगा राख्नु राम्रो हुन्छ ।

गोलभेंडाको प्रत्येक आँख्लाबाट हाँगा छोड्ने भएकोले ४ ओटाभन्दा बढी हाँगा आउन नदिन नियमितरूपमा मुना चुड्नुपर्छ । करेसाबारीमा एक बोटलाई एउटा थाँक्रा दिन सजिलो हुन्छ । तर धेरै क्षेत्रमा लगाउँदा भने सामूहिक थाँक्रा दिँदा काँटछाँटको लागि सजिलो हुन्छ ।

२) रायोको साग

रायो नेपालको लोकप्रिय हरियो सागबाली हो । यसमा क्याल्सियम, फलाम, फस्फोरस, प्रोटिन, रेसा वस्तु र भिटामिन ए, बी, सी र ई प्रशस्त मात्रामा पाइन्छन् । रायो नेपालको सबै स्थानमा हुने गर्दछ । रायो खेती छोटो दिन, ठन्डी तापक्रम र ओसिलो वायुको अवस्थामा राम्रो सप्रन्छ । लामो दिन, उच्च तापक्रम र सुख्खा मौसममा रायो सप्रदैन । तराई र मध्य पहाडमा यो हिउँदे बाली हो । तुषारो र हिउँ पर्ने ठाउँमा रायो ग्रीष्म याममा खेती गर्न सकिन्छ ।

रायो खेती मध्य पहाडी क्षेत्रमा वेमौसमी र अन्तरवालीको रूपमा बाह्रै महिना लगाउने गरिन्छ । व्यवसायिक उत्पादनको लागि उच्च पहाडमा फागुन–वैशाख, मध्यपहाडमा भदौ-मंसिरसम्म र भित्री मधेश वा तराईमा असोज-पुससम्म लगाएको बाली राम्रो हुन्छ ।

जात: खुमल चौडापात, ताङ्गखुवा, मार्फा चौडापात, खुमल रातोपत, स्थानीय जातहरू ।

बिउ दर: १५–२० ग्राम प्रतिरोपनी ।

नर्सरी व्यवस्थापन: प्रायः तरकारी खेतीमा नर्सरी व्यवस्थापन एकै नासले गर्न सकिन्छ र गर्नुपर्दछ । बर्षामा ड्याङ बनाई नयाँ सेतो प्लाष्टिकले ढाकेर राख्नुपर्दछ । प्लाष्टिक टनेल छ भने यसो गर्न आवश्यक छैन । हिउँदमा कृत्रिम तामपक्रम दिएर नर्सरीलाई बढाउनु र हुर्काउनु पर्ने हुनसक्छ तर प्लाष्टिकको गमोजचाहिँ बनाउनु पर्दछ ।

कसरी गर्ने रायोको सागको खेती ?

रायो छिटो तयार हुने बाली भएकोले लगाउनु भन्दा अगाडि जमीनको तयारी राम्ररी गर्नु पर्दछ । यसको लागि २५–३० से.मि.गहिराईसम्म राम्ररी खनजोत गरी प्राङ्गारिक मल प्रशस्त हाल्नु पर्दछ ।

एक रोपनी जमीनको लागि ८०० के.जी. गोवरमल, १० के.जी. नाईट्रोजन, ९ के.जी फोस्फोरस तथा ४ के.जी. पोटासको आवश्यकता पर्दछ ।

राम्ररी तयार गरेको ब्याडमा ३–४ हप्तामा बेर्ना सार्न लायक हुन्छ। बर्ना सार्दा एक लाइनको दूरी ४५ स.मी. र एक बोटबाट अर्को बोटको दूरी ३० से.मी.को दुरीमा रोप्ने।

गोलभेडा, काउलीजस्तै यसलाई पनि सिँचाइको आवश्यकता पर्दछ।

रायोको सागले जमीनलाई ढाक्ने भएकोले झारपात कम आउने र माटो हल्का रहने हुँदा जमीन खुल्ला रहने बालीमा भन्दा कम गोडमेलको आवश्यकता हुन्छ । तर बाली अवधिभरमा २–३ पटक भने गोडमेल गर्नु पर्दछ ।

अन्य बालीसँग रायो अन्तर बालीको रूपमा लगाउने प्रचलन वढी छ । यसरी लगाउने क्रममा गोलभेडा, काँक्रो, सिमी, वोडी, मकै, जुनेलो, खुर्सानी र भण्टा जस्ता बालीहरूसँग उचित दूरी र काँटछाँट गरी अन्तरबाली लगाउन सकिन्छ ।

रायो साग वाली रोपेको ३०–४० दिनमा पहिलो टिपाई गर्न सकिन्छ । त्यसपछि प्रत्येक १०–१५ दिनको फरकमा करीव १०० दिनसम्म टिप्न सकिन्छ ।

पात टिप्दा बिचको पात टिप्नु हुदैन । साईज भएका कलिलो र कोमल वाहिरका पातहरू टिप्नु पर्दछ । सही समय चोटपटक नलगाई हलुका तवरले टिप्दा नयाँ पात पलाउने र टिपाईको पटक समेत बढ्छ ।

रायो साग सकेसम्म वेलुकीपख सफा मौसममा टिपी संख्याको आधारमा मुठ्ठा पारी हावादार कोठामा राख्नु पर्दछ ।

३) खोर्सानी खेती

पहाडमा खोर्सानीको खेती बर्षा र तल्लो पहाड र खोंचमा भने हिउँदमा गरिन्छ । खोर्सानीले पनि धेरै चिसो र तातो दुबै सहन सक्दैन ।

जात: सूर्यमुखी, ज्वाला, अकबरे नर्सरी: पहाडमा प्लाष्टिक घर र तराईमा छाप्रोसहितको ब्याडमा नर्सरी तयार गर्नुपर्छ ।

बिउदरः ६० ग्राम प्रतिरोपनी बेर्नाः ४,०००-५,००० वटा

कसरी गर्ने खोर्सानी खेती ?

प्रतिरोपनी ५० डोको (करिव १.२ मे. टन) राम्ररी पाकेको प्राङ्गारिक मल राख्ने ।

२ के.जी. युरिया, ४.५ के.जी. डी.ए.पी. र ३.५ के.जी. म्युरेट अफ पोटास प्रतिरापेनीका दरले जग्गा तयारीको अन्तिम अवस्थामा प्रयोग गर्न पनि सकिन्छ ।

जाडोयाममा ५–६ पाते भएपछि र वर्षायाममा ७–८ पाते भएपछि बेर्ना सार्ने ।

झारपात बढ्न नदिने ।

बढी उत्पादन लिनको लागि गहुँत पानीको झोल (थप मल) १५–१५ दिनको फरकमा प्रति १ वर्गमिटर क्षेत्रफलको लागि १ लिटर (सात चौथाइ) को दरले हाल्ने ।

रासायनिक मलको हाल्ने हो भने बेर्ना सारेको ४ र ८ हप्तापछाडि बिरुवाको वरिपरि गोलो डोब बनाएर १५०० ग्राम युरिया प्रतिरोपनी प्रत्येक पटकको दरले प्रयोग गर्ने र माटोले पुरेर चिसो कम भएमा सिँचाई गर्ने ।

हरियो चम्किलो फल मात्र टिप्नुपर्दछ जसको भेट्नुमा काठ पसेको हुन्छ र भाँच्दा पिटिक्क भाँचिन्छ ।

४) केराउ (मटरकोशा)

केराउ कोसेबालीहरूमध्ये अति महत्त्वपूर्ण बाली हो । नेपाल अधिराज्यभर गर्न सकिन्छ । यो हिउँदे बाली भए पनि उच्च पहाडी क्षेत्रमा यसको खेती वर्षामा पनि गर्न सकिन्छ । प्रोटिनको मुख्य स्रोत केराउ काँचै खाँदा पनि मीठो हुन्छ । केराउलाई चिसो हावापानी चाहिन्छ । यसले तुषारो खप्न सक्छ, तर फूल र कोसा लाग्ने समयमा तुषारोले नोक्सान पु¥याउँछ । १०–१८ डि.से. तापक्रम यसका लागि उपयुक्त हुन्छ ।

जातहरू: सिक्कि लोक, आर्केल, न्यू लाइन पर्फेक्सन, बोनभिले र सिक्किम ग्रीन आदि ।

बिउदर: एक रोपनी जमिनमा दुई किलोदेखि तीन किलोसम्म बिउको आवश्यकता हुन्छ । सिक्किम लोकल मोटो र पोटिलो हुने हुनाले तीन किलो र अन्य जातमा दुई किलोले नै पुग्दछ ।

कसरी गर्ने मटरकोशाको खेती ?

दुई–तीन पटक राम्ररी खनजोत गरी डल्ला फोरेर सतह मिलाउनुपर्छ ।

राम्ररी कुहिएको २०–२५ डोको गोठे मल अथवा कम्पोस्ट मल २ किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्ने समयमा प्रयोग गर्नुपर्छ । यसलाई अरु बालीलाई जस्तै नाइट्रोजनयुक्त मलले टपड्रेस गर्न आवश्यक छैन किनभने यो बालीले आफ्नो जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताले गिर्खाभित्र जम्मा गर्छ ।

खेतबारीमा सालमा एकपटक कोसेबाली खेती गर्न सकेमा खेतबारीको मलिलोपन कायम रहन्छ ।

केराउको नर्सरी नगरिने हुनाले यसलाई सिधैँ रोप्नु पर्दछ । लाइनबाट लाइन ४५ से.मी. र बोटबाट बोट दूरी ४५ से.मी.को दूरीमा २–३ दानाको हिसाबमा कुटो वा कुनै औजारले एक इन्च माटोमुनि पर्ने गरी रोप्नुपर्छ र माटोले पुर्नुपर्छ ।

बिउ रोप्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान कायम भएको बेलामा बिउ छर्नुपर्छ । उम्रेको २०–२५ दिनमा दोस्रो पल्ट पानी पटाउनुपर्छ । त्यसपछि आवश्यकतानुसार पानी लगाउनुपर्छ ।

केराउलाई फूल खेल्ने समयभन्दा अगाडि नै थाक्रा दिनुपर्छ र डोरीलाई यसलाई थाक्रामा बाँधि दिनुपर्दछ ।

झारपात देखिनासाथ कुटो वा कोदालोले हल्का खन्नुपर्छ ।

केराउ टिप्नको लागि कुलेसो अर्थात ड्याङको बाटो प्रयोग गर्ने ।

नरम, कलिला तर राम्रोसँग भरिएका कोसाहरू टिप्नुपर्छ । हरियो कोसा ३००–५०० के.जी. प्रति रोपनी सरदर उत्पादन हुन्छ ।

५) काँक्रो खेती

वर्षायाममा काक्रो खेती गर्ने हो भने बेर्नालाई प्लाष्टिकको घरमा हुर्काएर वसन्त ऋतुदेखि नै खेती गर्न सकिन्छ ।

जातः भक्तपुर स्थानीय, कुसुले नर्सरी छिटो उत्पादन लिनको लागि प्लाष्टिकको घरको व्यवस्था गर्नुपर्दछ ।

बिउदरः १२० ग्राम प्रतिरोपनी, बेर्नाः २५०–३०० वटा प्रतिरोपनी

कसरी गर्ने काक्रो खेती ?

उठेको ड्याङ्ग बनाई निकासको राम्रो प्रबन्ध गर्ने । मललाई १२० से.मि.×१२० से.मि.को दूरीमा ३० से.मि.गहिरो र त्यत्तिकै गोलाई भएको खाल्डो खनेर हाल्ने ।

एउटा खाल्डोमा ४-५के.जी. पाकेको प्राङ्गारिक मल प्रयोग गर्ने । रासायनिक मलको प्रयोग गर्ने अवस्थामा प्रतिखाल्डो १० ग्राम डी.ए.पी. र ४ ग्रामम्युरेट अफ पोटास हाल्ने ।

४-५ पाते भएपछि बेर्ना सार्ने । बेर्ना रोप्नुभन्दा अगाडि प्लाष्टिक थैलालाई सर्लक्क झिकेर माटोसहित खाल्डोको बीचमा सार्ने ।

६ आँख्लाभन्दा माथि आएपछि टुप्पालाई चिमोटेर फाल्ने । त्यसपछि आएका हाँगामा धेरै पोथी पूmलहरू लाग्दछन् । खेती गरिएको ठाउँलाई झारपातमुक्त बनाउने ।

१५–१५ दिनको फरकमा गहुँत–पानीको झोललाई प्रतिबोट २५० मि.लि. करिब आधा मानाको दरले प्रयोग गर्ने । रासायनिक मल प्रयोग गर्ने भएमा बेर्ना सारेको ३–४ हप्तापछाडि र पूmल फुल्न सुरु भएपछि गरेर २ पटक थप मल दिने।

दुई चिया चम्चा युरिया प्रत्येक थप मल दिने बेलामा बोटको वरिपरि हाल्ने र माटोले पुरेर सिँचाइ दिने । वर्षायाममा माथि-माथि जाने गरी थाँक्रा दिनुपर्दछ । रोगी र बाङ्गाटिङ्गा फलहरूलाई देख्नेबित्तिकै हटाउनुपर्दछ ।

फललाई मुठीभरिको (१५–२० से.मि. गोलाइ) भएपछि टिप्ने । फल छिप्याउन छोडेको झालबाट कम उत्पादन हुन्छ । यदि फल पकाउने नै हो भने एउटा झालमा मात्र फल पकाउनु राम्रो हुन्छ।

बढी उत्पादन लिन ठिक्कका फलहरू नियमित रूपमा टिप्नुपर्छ ।

६) गाजर खेती

मध्य पहाडको माथिल्लो क्षेत्र र उच्च पहाडको तल्लो क्षेत्रमा गाजर खेती बर्षैभरी गर्न सकिन्छ । ३०-४५ दिनको फरकमा पटक-पटक रोपेर आपूर्तिलाई निरन्तरता दिन सकिन्छ ।

जात: न्यू कुरोडा, नान्टिस बीउः २००–३०० ग्राम प्रतिरोपनी

कसरी गर्ने गाजरखेती ?

गहिरो गरी जग्गाको खनजोत गर्ने । बिउ रोप्ने ड्याङलाई माटो मसिनो पारेर खन्ने । सुख्खायाममा एकनासको सिँचाइको लागि ड्याङलाई सम्म पार्ने र अगौटे बाली लगाउँदा निकासको प्रबन्ध मिलाउने ।

जग्गाको तयारी गर्दा नै राम्ररी पाकेको प्राङ्गारिक मल ६० डोको (करिव १.५ मे.टन) प्रतिरोपनीको दरले हाल्ने । नपाकेको प्राङ्गारिक मलको प्रयोग र ढुङ्गा वा गेगर भएको ठाउँमा धेरै जरा फाट्दछ ।

२ के.जी. युरिया, ४.५ के.जी. र ३ के.जी. म्युरेट अफ पोटास प्रतिरोपनीका दरले जग्गा तयारीको अन्तिम अवस्थामा प्रयोग गर्दा राम्रो उत्पादन लिन सकिन्छ ।

बिउलाई २४ घण्टा भिजाएर आधा घण्टा अगाडि पानी तह¥याएर रोप्नाले चाँडै उम्रन्छ । बिउ रोप्नुभन्दा अगाडि बिउमा बराबर बालुवा वा खरानी मिसाएर रोप्दा राम्रो हुन्छ । बिउ रोप्दा ४० से.मि. फरकको हारमा लगातार बिउ खसाउनुपर्छ । बिरुवा ४–५ पाते भएपछि १०–१० से.मि. को झारपात बढ्न दिनुहुँदैन ।

गाजरलाई नियमित रूपमा प्रशस्त सिँचाइ आवश्यक पर्दछ । तर बिउ उम्रने र जरा बढ्ने बेलामा सिँचाइ थप आवश्यक हुन्छ । थप मलको रूपमा गहुँत पानी (१ भाग गहुँत र ४ भाग पानी)को १५–१५ दिनको फरकमा छर्कने ।

एक लिटर गहुँत पानीको झोललाई प्रति वर्गमिटर क्षेत्रफल माटोमा हाल्ने ।

रासायनिक मल प्रयोग गर्ने हो भने बिउ रोपेको ४ र ८ हप्तापछाडि १.५ के.जी.युरिया प्रत्येक पटक प्रतिरोपनीका दरले हारको छेउमा डोब खनेर हाल्ने र माटोले पुरेर सिँचाइ दिने ।

जरामा काठ पस्नुअगाडि वा डुकु निस्कनुभन्दा अगाडि नै गाजर उखेल्ने । सामान्यतयाः बीउ रोपेको ३ महिनामा गाजर तयार हुन्छ ।

७) मूला खेती

मूला मुख्यतयाः हिउँदेबाली हो । तर, मध्य पहाडको माथिल्लो भाग र उच्च पहाडको तल्लो क्षेत्रमा वर्षैभरि मूलाखेती गर्न सकिन्छ । सानो–सानो प्लटमा ३० देखि ४५ दिनको फरकमा रोप्नाले लगातार उत्पादन लिन सकिन्छ ।

जातः मिनोअर्ली , चालीस दिने, टोकिनासी

बिउः ३०० ग्राम प्रतिरोपनी ।

कसरी गर्ने मूलाखेती ?

खेती गर्ने जग्गा ४० से.मि. (करिव १ हात) गहिरो बनाएर खनेमा मूला बढ्ने ठाउँको माटो हलुका हुन्छ ।

मूला लगाउने जग्गामा डल्ला र ढुङ्गा हुनुहुँदैन ।

ब्याडलाई मसिनो र समतल बनाउनुपर्छ ।

सुक्खा याममा एकनासको सिँचाइ र वर्षामा पानी निकासको ख्याल राख्नुपर्छ ।

नपाकेको मल मलको प्रयोग र जमिनमा ढुङ्गा वा गेगर भएमा जरा फाटिने समस्या हुन्छ ।

पाकेको प्राङ्गारिक मल ५० डोको (करिव १.२ मे. टन)प्रतिरोपनी हाल्ने ।

रासायनिक मल हाल्ने भए २ के.जी. युरिया, ६.५ के.जी. डी.ए.पी. र ३ के.जी. म्युरेट अफ पोटास प्रतिरोपनीका दरले जग्गा तयारीको अन्तिम अवस्थामा प्रयोग गर्ने ।

लाइनबाट लाइनको दूरी ५० से.मि. र बोटबाट बोटको दूरी १५ से.मि.को फरकमा, प्रत्येक डोबमा २ वटा बिउ रोप्नुपर्छ । पछि बिरुवा २–३ पाते भएपछि १ मात्र हुने गरी अरु उखेल्नुपर्दछ ।

मलको रूपमा प्रति वर्गमिटर क्षेत्रफलको लागि एक लिटर गहुँत पानीको झोललाई १५–१५ दिनको फरकमा माटोमा हाल्नुपर्दछ ।

यदि रासायनिक मल राख्ने हो भने बिउ रोपेको ४ हप्ता पछाडि हारको एक छेउबाट २.५ के.जी. युरिया प्रतिरोपनीको दरले

हाल्ने माटोले पुरेर सिँचाइ दिने ।

निरन्तर सिँचाइ दिएर माटो सुक्खा हुन र झारपात बढ्न दिनु हुँदैन ।

मूलाको डुकु आउनुभन्दा अगाडि वा जरा फोक्सिनुभन्दा अगाडि नै उखेल्नुपर्दछ ।

८) प्याज खेती

प्याज मध्य-पहाड र खोंच क्षेत्रको लागि हिउँदेबाली हो । सुहाउँदो जातको छनौट वा प्याज दाना (सेट्स् रोप्ने प्रविधिको प्रयोग गरेर जाडोयाम (मंसिर–पुस)मा पनि प्याज उत्पादन गर्न सकिन्छ ।

जात: रेड क्रियोल, र एन. ५३, हिउँदमा । एग्रीफाउण्ड डार्क रेडः वर्षामा खेती गरेर जाडोमा बाली लिन उपयुक्त जात ।

नर्सरी: बेर्ना उत्पादन गर्न दबेको ब्याड प्रयोग गरिन्छ । सेट्स्को उत्पादन गर्न उठेको ब्याड नै उपयुक्त हुन्छ ।

बिउः गानाको लागि ४००–५०० ग्राम प्रतिरोपनी बेर्नाः ३४,०००–३५,००० प्रतिरोपनी बिउः सेट्स्को लागि ३०० ग्राम

प्रतिरोपनी दाना (सेट्स्ः ६०–७० के.जी. प्रतिरोपनी

सेट्स्को तयारी कसरी गर्ने ?

एक रोपनीको लागि आवश्यक पर्ने सेट्स्को उत्पादन गर्न ५० वर्गमिटरको नर्सरीमा ब्याड राख्ने ।

प्याजको दानाको गोलाई गुच्चा जत्रो (१.०–१.५ से.मि. व्यास) भएपछि फागुन महिनातिर सिचाँइ दिन रोक्ने र आकाशबाट पर्ने पानीबाट समेत जोगाउने ।

बेर्ना सुकेपछि उखेलेर २–३ घाममा सुकाउने ।

धेरै सानो (१ से.मि. भन्दा सानो गोलाई भएको) र धेरै ठूलो (३.५ से.मि. भन्दा धेरै गोलाई भएको)लाई छुट्याएर बाँकी रहेकोलाई मात्र सेट्स्को रूपमा प्रयोग गर्ने ।

सेट्स्लाई झुप्पा बनाएर पानीले नभिज्ने तर हावा खेल्ने स्थानमा झुण्ड्याएर राख्ने ।

कसरी गर्ने प्याजखेती ?

खेती गर्ने जग्गा २५–३० से.मि. गहिरो खन्ने ।

बेर्ना रोपेर हिउँदमा खेती गर्न दबेको ड्याङ्ग बनाएर रोप्ने र सेट्स्बाट वर्षायाममा खेती गर्न उठेको ड्याङ्ग बनाउने ।

जग्गा तयारीको बेलामा ७५ डोको (करिब १.८ मे. टन) प्रतिरोपनीका दरले पाकेको मल हाल्ने ।

उपलब्ध भएमा १.५ के.जी. युरिया, ४.५ के.जी. डी.ए.पी. र ४ के.जी. म्युरेटअफ पोटास प्रतिरोपनीका दरले जग्गा तयारीको अन्तिम अवस्थामा माटोमा मिलाएमा राम्रो उत्पादन हुन्छ ।

७–८ पाते अवस्थामा बेर्ना सार्न ठिक्क हुन्छ र यो अवस्थामा आइपुग्न बिउ रोपेको ३५–४० दिन लाग्दछ ।

मुख्य समयमा बेर्ना सार्दा १५×१० से.मि.को फरकमा दबेको ब्याडमा सार्ने ।

सेट्स्लाई उठेको ड्याङ्गमा २०×२० से.मि. को दूरीमा सतहभन्दा ठिक तल पर्नेगरी रोप्ने ।

१.५–२.५ से.मि. ब्यास (गोलाइ) भएको सेट्स्लाई गाना उत्पादनको लागि र २.५–३.५ से.मि. हरियो प्याजको लागि रोप्ने ।

प्याजको गोडमेल गरेर झारपात नियन्त्रण गर्ने तर त्यसो गर्दा हल्का मात्र खन्ने ।

प्रतिवर्गमिटर एक लिटरको दरले १५ दिनको फरकमा थप मलको रूपमा गहुँत–पानीको झोल (१ भाग गहुँत र ४ भाग पानी) माटोमा हाल्ने ।

रासायनिक मलको प्रयोग गर्ने भएमा बेर्ना सारेको ४ र १२ हप्तापछाडि १.७५ के.जी. युरिया प्रत्येक पटक हारको छेउमा कुलेसो बनाएर हाल्ने र माटोले पुरेर सिँचाइ दिने ।

प्याजलाई छिटो छिटो सिँचाइको आवश्यकता पर्दछ, तर गाना लाग्ने र बढ्ने अवस्थामा भने बढी संवेदनशील हुन्छ ।

प्याजको बोट ढलेपछि गाना उखेल्नुपर्दछ।

सेट्स् रोपेको १ महिना पछाडिदेखि हरियो बोट उखेलेर तरकारीकोरूपमा प्रयोग गर्न सकिन्छ।

सेट्स् रोपेको अवस्थामा आफैं बोट नढलेमा करिब ३ महिनापछि गाना खन्नुभन्दा १–२ हप्ताअगाडि बोट ढालिदिनुपर्छ ।

भण्डारण गर्नुभन्दा अगाडि गानालाई घाममा राम्ररी सुकाउनुपर्छ । सानो घाँटीभएको गानाको भण्डारण क्षमता मोटो घाँटी भएको गानाभन्दा बढी हुन्छ ।

९) लसुन खेती

लसुन गाने बालीमा पर्ने प्याजपछिको प्रमुख बाली हो । मसलामा प्रयोग हुने लसुनमा औषधिय गुण हुन्छ । क्षारीय गुण भएको र अम्लपित्त, अल्सर (आन्द्राको घाउ), क्यान्सरजस्ता घातक रोगहरूका लागि पनि लसुन प्रयोग गरेको पाइन्छ ।
स्थानीय जातः तराई जात, पहाडी जात, हिमाली जात र चाइनिज जात ।

लसुनका जातहरू तापक्रम, दिनको लम्बाई र प्रकाशसँग संवेदनशील हुने भएकोले परीक्षण नगरी एक ठाँउको जात अर्को ठाउँमा खेती गर्नु हुँदैन । लसुन खेतीका लागि औसत १८ देखि २५० सेन्टीग्रेड तापक्रम आवश्यक हुन्छ । तापक्रम कम हुने क्षेत्रमा बोट पहेँलिने समस्या हुन्छ । लसुन जाडो महिनाको बाली भएकाले यसमा तुसारो सहन सक्ने क्षमता निकै राम्रो हुन्छ ।

बिउदर: स्थानीय जात १२ देखि १५ के.जी. प्रतिरोपनी र चाइनिज जातको लसुन २५ देखि ३० के.जी. प्रतिरोपनी ।

कसरी गर्ने लसुन खेती ?

लसुनको पोटी रोपेको ३० दिनसम्म २०–२५० सेन्टीग्रेड हुनु पर्दछ र त्यसपछि तापक्रम १० –१५०से. र दिनको लम्बाई १०–११ घण्टा करिब १२० दिनसम्म बिस्तारै घट्दै जाने हुनुपर्दछ । तत्पश्चात बिस्तारै तापक्रम र दिनको लम्बाई बढ्दै गएमा उत्पादन राम्रो हुन्छ ।

एक्कासी तापक्रम बढेमा चाँडै नै डल्ला बनी गानो स–साना हुन्छ । तराईमा सानो डल्ला बन्ने मुख्य कारण पनि यही नै हो ।

प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट तथा खुकुलो माटो उपयुक्त हुन्छ भने चिम्टाइलो, रातो तथा पानी जम्ने माटोमा यसको उत्पादन निकै कम हुने गर्छ ।

लसुन रोप्दा ठूला–ठूला गाना भएको लसुन छानी उक्त गानोबाट ठूला–ठूला पोटिला पोटी छानी सो पोटी मात्र रोप्नु पर्दछ ।

चाइनिज जातको लसुन रोप्दा पहाडी भेगमा असोज महिना र उच्च पहाडी तथा हिमाली भागमा असोज, कार्तिक र फागुन महिनामा लगाउन सकिन्छ भने स्थानीय जातको लसुन तराईमा कार्तिक महिना, मध्य पहाडी भागमा असोज–कार्तिक महिना, उच्च पहाडी भागमा असोज-कार्तिक महिना र हिमाली भेगमा कार्तिक र फागुन महिनामा लगाउन सकिन्छ ।

खेती गर्नुअघि तोरीको पिना वा चिउरीको पिना १० के.जी., वेभिष्टिन पाउडर २०० ग्राम र डर्सवान मालाथेन पाउडर १ के.जी., २० के.जी. गोबर मलमा मिसाई प्रतिरोपनीका दरले जोतेर माटोमा मिसाइ माटोको उपचार गर्नुपदर्छ ।

जमिनको अन्तिम तयारी गर्दा गोबर मल १५०० के.जी., डिएपि १२ के.जी, पोटास १० के.जी. र जिङ्क १ के.जी. प्रतिरोपनीका दरले माटोमा मिसाउनु पर्दछ ।

बोट उम्रेपछि टप डे«सिङ्गका रूपमा युरिया मल पनि प्रयोग गर्नु पर्दछ । जग्गा तयारी गरिसकेपछि पोटी रोप्नुभन्दा पहिले लसुनको पोटीलाई २ ग्राम साफ वा वेभिष्टिन पाउडर प्रतिलिटर पानीमा तयार पारिएको झोलमा ३० मिनेटसम्म डुवाई उपचार गर्नु पर्दछ र डुबाएको पोटीलाई ओझेलमा वा शीतलमा सुकाएर मात्र रोप्नु पर्दछ ।

लसुन बाली लगाउन जग्गा २५ देखि ३० से.मि. गहिरो हुने गरी ३–४ पटक खनजोत गर्नु पर्दछ ।

लसुनलाई लाइनमा रोप्ने चलन छ र रोप्दा दुई लाइन बिचको दुरी १५ से.मी र बोट–बोटको दुरी ८ से.मी.हुनुपर्दछ ।

पोटी लगाएको ४० देखि ५० दिन भित्र युरिया ५ के.जी. प्रतिरोपनी जग्गामा टपड्रेसिङ्ग गर्नु पर्दछ भने पोटी रोपेको ७० देखि ८० ५ के.जी. प्रतिरोपनीका दरले दोस्रो टपड्रेसिङ्ग गर्नु पर्दछ ।

यसैगरी पुनः ५ के.जी.युरिया प्रतिरोपनीमा गानो बन्ने समयमा पनि टपड्रेसिङ वा साइड ड्रेसिङ गर्नु पर्दछ ।

लसुन रोपेको ३० दिनमा एकपटक, ६० दिनमा अर्को पटक र ९० दिनमा पुनः गरी ३ पटक म्याग्नेसियम सल्फेट १ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्नाले लसुनमा रस, स्वाद र वास्ना थपिन्छ ।

गानो बन्न सुरु हुने समय (तराईमा मध्य फागुनदेखि र पहाडमा चैत्रदेखि सुरु हुन्छ ।)मा मलखाद पुनः दिने, झारपात उखेल्ने, माटो सदैव चिसो राख्नुुपर्ने र रोग कीराबाट जोगाउनु पर्ने हुन्छ ।

लसुन खेती गर्दा खेती अवधिभर ३–४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक गोडमेल गर्न सकिन्छ ।

लसुन बाली अवधिभर माटो खुकुलो राख्नु पर्दछ ।

पातहरू पहेँलो भइसकेपछि र बोट ढलेपछि मात्र लसुन खन्दा हुन्छ । लसुन उखेल्दा घाम लागेको दिनमा उखेल्नुपर्छ र डल्ला र पातलाई राम्रोसँग घाममा सुकाउनुपर्छ ।

१०) काउली खेती

तराई, खोंच र मध्य पहाडमा मुख्य याम भनेको हिउँद हो भने उच्च पहाडमा वर्षायाममा काउली खेती गरिन्छ ।

जातः सर्लाही दिपाली-अगौटे, काठमाडौँ स्थानीय-मध्य डोल्पा स्नोबल, पछौटे आदि ।

बिउः ४० ग्राम प्रतिरोपनी । बेर्नाः २,०००–२,५०० वटा प्रतिरोपनी ।

कसरी गर्ने काउली खेती ?

चिसो मौसममा प्लाष्टिक घर र वर्षायाममा उठेको ब्याड र त्यसमाथि छाप्रो हालेर बढी चिस्यानबाट जोगाउने ।

सुक्खा मौसममा बसेको ब्याड बनाएर छापो बनाउने ।

जग्गा तयारी गर्दा ३० से.मि. सम्म गहिरो खनजोत गर्ने ।

जग्गा तयारीको बेला ७५ डोको (करिव १.८ मे. टन) प्रतिरोपनीका दरले प्राङ्गारिक मल हाल्ने ।

उपलब्ध भएमा जग्गा तयारीको अन्तिम अवस्थामा २ के.जी. युरिया, ६.५ के.जी.डी.ए.पी. र ४ के.जी. म्युरेट अफ पोटासप्रति रोपनीका दरले माटोमा मिलाउने ।

यामअनुसार बिउ रोपेको २५ देखि ३५ दिनमा बेर्ना ४-५ पाते अवस्थामा पुग्दछ र त्यस अवस्थामा बेर्ना सार्नु उपयुक्त हुन्छ ।

अगौटे र पछौटे जातलाई ४५×४५ से.मि.को दूरीमा रोप्नु उपयुक्त हुन्छ भने मध्य मौसमी जातलाई ६०×४५ से.मि. को दूरीमा रोप्ने ।

अगौटे जातलाई उठेको ड्याङ्ग बनाएर रोप्ने ।

झारपातलाई बढ्न नदिने ।

गहुँतको झोल (१ भाग गहुँतसँग ४ भाग पानी)को प्रयोग गर्न राम्रो हुन्छ ।

गहुँतको झोललाई १५–१५ दिनको फरकमा प्रति वर्गमिटर क्षेत्रफलको लागि १ लिटर (सात चौथाइ)को दरले माटोमा हाल्ने ।

रासायनिक मलको प्रयोग गर्ने भएमा बोटको वरिपरि सानो डोब बनाएर त्यसमा दुई पटक २.५ के.जी. युरिया प्रतिरोपनीका दरले बेर्ना सारेको ३–४ हप्ता र ६–८ हप्ता पछाडि हाल्ने र माटोले पुरेर सिँचाइ दिने ।

माटोमा चिस्यानको कमी भएमा बोटको वृद्धिमा नोक्सान पु-याउँछ । तर कोबी फूल) बढ्ने बेलामा चिस्यानको कमीले अझ बढी असर पुग्छ ।

काउलीको बाहिरपट्टिको थुङ्गाहरू छुट्टिन सुरु गरेपछि काउली टिप्ने ।

११) बन्दा खेती

तराई खोच तथा मध्य पहाडमा हिउदमा र उच्च पहाडमा भने वसन्त र वर्षायाममा बन्दा खेती गरिन्छ ।

जातहरूः प्राइङ अफ इण्डियाः अगौटे, कोपन हेगन मार्केटः मध्यलेट लार्ज ड्रम हेडः पछौटे ।

बिउः ३०–४० ग्राम प्रतिरोपनी बेर्नाः २,०००–२,५०० प्रतिरोपनी ।

कसरी गर्ने बन्दाखेती ?

चिसो हावापानी र हिउँद याममा प्लाष्टिकका घर पछौटे जातको बेर्ना उमार्ने ।

छाना हालेको, उँचो ब्याडको प्रयोग अगौटे जातको बेर्ना उत्पादन गर्न वर्षायाममा उपयुक्त हुन्छ।

गहिरो हुनेगरी जग्गाको खनजोत गर्ने ।

जग्गा तयार गर्दा ७५ डोको (करिव १.८ मे. टन) प्रतिरोपनीको दरले प्रयोग गर्ने ।

भएमा ३ के.जी. युरिया, ६.५ के.जी. डी.ए.पी. र ४ के.जी. म्युरेट अफपोटास प्रतिरोपनीको दरले जग्गा तयारीको अन्तिम अवस्थामा प्रयोग गर्ने ।

४-५ पाते बेर्ना सार्नु राम्रो हुन्छ ।

अगौटे बन्दालाई वर्षायाममा रोप्दा ड्याङ्गमा ४५×४५ से.मि. को फरकमा रोपिन्छ भने मुख्य याममा उठेको ब्याडमा ६०×४५ से.मि. को दूरीमा रोपिन्छ ।

बेर्ना सारेको १५ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्नुपर्दछ । झारपात बढ्न दिनुहुँदैन ।

गहुँतको झोल (४ भाग पानीसँग १ भाग गहुँत) थप मलको रूपमा प्रयोग गर्न सकिने ।

गहुँतको झोललाई १५–१५ दिनको फरकमा एक वर्गमिटर क्षेत्रफलको लागि १ लिटरको दरले माटोमा हाल्ने ।

रासायनिक मलको प्रयोग गर्ने भएमा २.५ के.जी. युरिया प्रतिरोपनीका दरले बेर्ना सारेको ३–४ हप्ता र ६–८ हप्तामा बिरुवाको वरिपरि डोब बनाएर हाल्ने र पुरेर सिँचाइ दिने ।

खेती अवधिभरि माटोमा आवश्यक चिस्यान कायम राख्ने, तर बन्दाको कोबी बाँधिने समय बढी संवेदनशील हुन्छ ।

हातले छाम्दा साह्रो भएपछि बन्दा टिप्नु उपयुक्त हुन्छ ।

१२) भण्टा खेती

भण्टाखेती पहाडमा वर्षायाममा गरिन्छ भने खोंच तथा औल क्षेत्रमा वसन्त याममा गरिन्छ ।

जातहरू: सर्लाही सेतो, पोखरा लुर्के, नुर्की, पुषा पर्पल लङ्ग

नर्सरी: पहाडी क्षेत्रमा चाँडै बेर्ना तयार पार्न प्लाष्टिकको घर उपयुक्त हुन्छ ।

बिउ: २५–३० ग्राम बेर्नाः २,५००-३,००० प्रतिरोपनी ।

कसरी गर्ने भन्टाखेती ?

खेती गर्ने जग्गा गहिरो (एक हात)सँग खनजोत गर्ने ।

पानी निकासको लागि उँचो ड्याङ्ग बनाई, खाल्डोमा मल राखेर बेर्ना रोप्ने ।

बेर्ना लगाँउदा वसन्त ऋतुमा लाइनबाट लाइनको दूरी ५० से.मि. र बिरुवाबाट बिरुवाका दूरी ५० से.मि. टाढा पारी रोप्ने ।

बेर्ना ५–६ पाते अवस्थामा सार्ने ।

वर्षायाममा लाइनबाट लाइनको दूरी ७५ से.मि. र बिरुवाबाट बिरुवाको दूरी ५० से.मि. टाढा पारी ड्याङ्गमा रोप्ने । यस्तो ड्याङ्ग जमीनबाट १५ से.मि. उठेको हुनुपर्दछ ।

जग्गा तयारीको समयमा ५० डोको (करिव १.२ मे. टन) प्रतिरोपनी पाकेको प्राङ्गारिक मल हाल्ने ।

उपलब्ध भएमा २ के.जी. युरिया, ४.५ के.जी. डी.ए.पी. र ३.५ के.जी. म्युरेट अफपोटास प्रतिरोपनीका दरले प्रयोग गर्ने ।

थप मलको रूपमा गहुँत पानी १५–१५ दिनको फरकमा प्रतिवर्गमिटर एक लिटर हाल्ने ।

यदी रासायनिक मल प्रयोग गर्ने हो भने बेर्ना सारेको ५ र १० हप्ता पछाडि प्रत्येक पटक १.५ के.जी. युरिया प्रतिरोपनीका दरले बिरुवाको वरिपरि डोब खनेर हाल्ने र माटोले पुरेर सिँचाइ दिने ।

झारपात उखेलेर सफा राख्नुपर्छ ।

नरम, कलिलो र चम्किलो फललाई टिप्नु उपयुक्त हुन्छ ।

कृषि विशेषज्ञ (कृषि विकास अधिकृत) शालग्राम अधिकारीसँगको कुराकानीमा आधारित

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏