राम्रो धानको बिउ कसरी छनौट गर्ने ?

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

यतिबेला लगभग देशै भरिका किसानलाई धानको बीउ राख्न भ्याइनभ्याइ छ । तर छरेको बीउ राम्ररी उम्रिनकालागि बीउ स्वस्थ हुन जरुरी छ।

धानको स्वस्थ बीउ छान्ने विधि:
१. एउटा बाल्टी वा बीउको परिमाणअनुसारको भाँडामा पानी भर्नुहोस् ( बीउ राख्दा नपोखिने जति) २. त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्। ३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको अाधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।

४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्। ५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल स्वस्थ बीउहरू थिग्रिनेछन्।

६. थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक सफा गर्नुहोस् ( बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन) र छायाँमा लगी सुकाउनुहोस्।
एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५/६ पटकसम्म प्रयोग गर्न सकिन्छ।
यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।

– बीउको उपचार:
बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम( Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏