धानको बीउ छनोट, उपचार र ब्याड ब्यबस्थापन

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

नर्सरी अथवा ब्याडमा बीउलाइ र बेर्नालाई बिशेष हेरचाहा, स्याहारसुसार गरी दैनिक निगरानीमा राखेर स्वस्थ बेर्नाको उत्पादन गरिन्छ। उत्पादनको ठूलो हिस्सा ब्याड पनि हो। राम्रो उत्पादन लिनको निम्ति ब्याड व्यवस्थापन राम्ररी गर्न आवश्यक छ।नर्सरी ब्याडको लागि मलिलो , अम्लियपन नभएको,भरपर्दो सिंचाइको स्रोत भएको, पानीको राम्रो निकास भएको तथा पारिलो ठाँउ छनोट गर्नु पर्दछ। धान खेती, बीउ छनोट, उपचार र ब्याड ब्यबस्थापन यहाँ पढ्नुहोस्।

धान विउको छनौट र उपचार कसरी गर्ने त?’ उपयुक्त जातको बीउ छानिसकेपछी यसलाई नुनपानीको प्रयोग बाट छान्ने।

कति पानीमा कति नुन हाल्ने त?

यसको लागि एउटा भाँडोमा पानी लिने र एउटा कुखुराको अन्डा राख्ने त्यसमा नुन हाल्दै जाने, नुन त्यतिबेला सम्म हाल्ने जतिबेला सम्म राखेको अन्डा तैरिँदैन त्यसपछी, त्यो नुनपानीको घोलमा धानको बीउ राख्ने।

अथवा ५ लिटर पानी लिने, १ के.जी. नुन मिसाउने र त्यसमा डुब्ने गरि धानको बीउ राख्ने। यसलाइ एकै छिन चलाउने र १ मिनेट जति विउलाइ तैरिन दिने
तैरिएको विउलाइ अलग अलग गरि झिकेर छुटटै राख्ने बाकी विउलाइ त्यसरी नै सोहि नुन पानीको घोल प्रयोग गर्दै छुट्याउने ।

यसरी छानेको बिउलाई राम्रो संग २-३ पटक पानीले पखाल्ने र छायाँमा २-३ घन्टा सुकाएपछी बेभिस्टिन २ ग्राम प्रति केजि वा साफ ३ ग्राम प्रति केजी बिउमा १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने अनि जुटको बोरामा राखेर इन्कुबेट गर्ने। जुटको बोरा चिसो हुनुपर्दछ। यसो गर्दा बिउ छिटो उम्रने र बिरुवा स्वस्थ र दरिलो हुने साथै बेर्ना समानरुपमा बढ्छ।

धानको बीउ छनोट
यसरी छानिएको बिउमा उमार शक्ति ज्यादा हुन्छ साथै उत्पादन (१०-१५%) ले वृद्धि हुन्छ। थिग्रिएको विउमा विभिन्न रोगहरु जस्तै ब्लास्ट,खैरो थोप्ले ,फेद कुहिने ,डढुवा आदि रोगहरु ४० देखि ६० प्रतिशतले कम हुन्छ ।

मौसम : नेपालमा धान खेती तराईको फाँटदेखी देखि जुम्लाको (छुम्जुल) ३०५० मिटर उचाई सम्म भएको पाईन्छ। सामन्यतय,धान तातो हावापानी र धेरै सापेक्षित आद्रता भएको ठाउमा हुने बाली हो । धान खेतीको लागि २०—३० डि.से को तापक्रमा आवश्यक पर्दछ भने ८०–९०% सापेक्षित आद्रता आवश्यकता पर्दछ ।

माटो : धान बालीलाई उपयुक्त माटो भनेको चिम्टाइलो माटो हो । यसको लागि पि.एच ५ देखि ६ं.५ भएको माटो उपयुक्त हुन्छ ।

धान खेती- बीउको दर र छर्ने तरिका स्थानीय जातको लागी : ५-६ के.जी प्रती रोपनी हाईबृडको लागि: २-३ के.जी. प्रती रोपनी

उम्रेको बिउलाइ हिलोमा टासिने गरि हल्का बल गरेर सबैतिर फैलने गरि राम्रोसँग छर्ने। हातले छर्नु भन्दा लाईनमा लगाउनु उपयुक्त हुन्छ। लाइनमा लगाउँदा दुई लाईन बिचको दुरी १० से.मी. र बिरुवा बिचको दुरी नराखी लगातार ३-५ से.मी. को गहिराईमा छर्नु पर्दछ।

बेर्ना सार्ने अबधि

लामो अवधि जातहरुका लागि ३०-३५ दिनको बेर्नासार्ने मध्यम अवधि जातहरका लागि २५-३० दिनको बेर्नासार्ने छोटो अवधि जातहरुका लागि २०-२५ दिनको बेर्नासार्ने। धेरै छिप्पिएको बेर्ना रोप्दा उत्पादनमा कमी आउँछ। डुबानको समस्या भएको ठाउँमा अलि छिप्पिएको बेर्ना प्रयोग गर्नु पर्छ

धान मलखादको प्रयोग र व्यवस्थापन

धान खेती- Rice Fertilizer Recommended
पर्याप्त गोबरमल र प्रांगारिक मलको अभावमा रसायनीक मल राख्न सकिन्छ।
बीउ राखेको २-१० दिनमा १ के.जी अमोनियम सल्फेट अथवा ०.५ के.जी. युरिया र २.५ के.जी. एसएसपी १०० बर्ग मि क्षेत्रफलको दरले छर्ने।
जिंकको कमी भएको माटोमा ५ के.जी. जिंक सल्फेट र २.५ के.जी क्याल्सियम हाईड्रोअक्साईड १००० लिटर पानीमा मिसाएर छर्ने

झारपातको नियन्त्रण
धान खेतीमा झारपात नियन्त्रणका लागि बसालिन, बुटाक्लोर लागएतका बिषादी प्रयोग गर्ने। ५०-१०० ग्राम बिषादी २० लिटर पानीमा मिसाएर १ रोपनीका लागि पुग्ने गरि बनाएर छर्ने।

सिंचाईको प्रयोग
ब्याड राख्ने तरिका र माटोमा पानीको अवस्था अनुसार सिचाई गर्ने

ठाउँ, समय, अनुकुलता र स्रोत साधनको उपलब्धता र ब्यबस्था अनुसार विभिन्न तरिकाहरु छन्।

१. धुले ब्याडको तयारी
यो विधि सिचाईँ कम भएको ठाउँमा धानको बेर्ना उत्पादन गर्न प्रयोग गरिन्छ
-माटोलाई बुर्बुराउँदो र मसिनो हुनेगरी ३-४ पटक जोतखन गर्ने। झारपात,किरा र किराको अन्डाहरु हटाउने-ब्याडलाई १ देखि १.२५ मिटर चौडाईमा बाड्ने, लम्बाई खेतको भिरालोपन अनुसार ८-१० मिटरको बनाउने-यसरी बाड्दा बीउ छर्न, झार गोड्न, बिषादीको प्रयोग गर्न र सिचाइ गर्न सहज हुन्छ।
-दुईवटा ब्याडको बीचमा ३० से.मी.को कुलेसो बनाएर धानको ब्याडलाई १०-१५ से.मी.अग्लो बनाउनुपर्दछ।-बीउ छर्नेबेला बिउलाई सबैतिर फैलनेगरी राम्रो संग छर्नुपर्दछ।

-बीउ छरिसकेपछी माटोले अथवा परालले छोप्नुपर्दछ अथवा माटोसंग राम्रोसंग चलाउनुपर्दछ।– ४-५ दिनसम्म चराहरुबाट बचाउनुपर्छ। त्यसका लागि ठाउँठाउँमा मान्छेको आकृती जस्तो देखिने बुकुचा बनाएर राख्नुपर्दछ।-छिटो हुने जातहरुको २०-२५ दिनमा बेर्ना तयार हुन्छ। ढिलो हुने जातहरु ३०-३५ दिनमा तयार हुन्छन्।-धानको ब्याडबाट बेर्ना उखेल्ने ३-५ दिन अगाडि ब्याडमा सिचाई गर्ने र उखेल्ने बेला ब्याडलाई पर्याप्त भिजाएर बेर्नालाई असर नपुग्ने गरि उखेल्ने।

२. हिले ब्याडको तयारी
सिचाइको राम्रो ब्यबस्था भएको ठाउँमा हिले ब्याडको प्रयोग गरिन्छ।-ब्याडलाई राम्रोसंग जोतखन गर्ने, गोबरमल १ महिना अगाबै माटोमा मिसाएर जोत्ने। माटो अनुसार कुनै तत्वको कमी भए रासायनिक मलको प्रयोग सिफारिस अनुसार गर्ने।-माटो समथर हुनेगरी हिलाम्य बनाउने।-त्यसपछी राम्रो संग छनोट गरिएको र कुम्याईएको(इन्कुबेटेड) बीउ सबैतिर बराबर पुग्ने गरि छर्ने।-दुई-तीन मुठी बीउ प्रती वर्ग मिटरमा छर्दा पर्याप्त हुन्छ।-५-६ दिनसम्म ब्याडलाई संतृप्त(Saturated) हुने गरी पानी जमाएर राख्ने।-धेरै पानी परेको अबस्थामा १ हप्तापछी अत्याधिक पानीको मात्राको निकास गर्ने-रोप्नेबेला ध्यानपुर्वक उखेल्ने र २४ घटा भित्र सार्ने।

३. डेपोग विधि
यो विधि फिलिपिन्स बाट प्रयोगमा आएको हो। यो थोरै ठाउँमा र छोटो समयमा बेर्ना उत्पादन गर्ने उपयुक्त विधि हो। यसरी उत्पादन गर्दा कुनै मल अथवा माटोको आवश्यक पर्दैन। बेर्ना छिटो बढ्ने गर्छन। थोरै ठाउँमा भएकाले हेरचाह गर्न पनि सजिलो हुन्छ। बेर्ना केही पातलो, मसिनो र कमजोर हुने भएकाले निकाल्ने बेला र सार्ने बेला ध्यान पुर्याउनुपर्दछ।
#प्रयोग_विधि
-पानीको स्रोतको नजिक मैदान परेको ठाउँ खोज्ने र उक्त क्षेत्रमा सिँचाइ गर्नुपर्दछ-यो विधिको प्रयोग गर्दा ब्याडलाई जोतखन गरिराख्नु पर्दैन तर एउटै सतहमा हुनेगरी माटोलाई मिलाउनुपर्दछ।
-१ मिटर चौडाई बनाउने, लम्बाई आफ्नो सहजता र चाहिने गरि राख्ने र बाहिर कुलेसोको माटो ब्याडमा राखेर ब्याडलाई ५ से.मी. माथी उठाउनुपर्दछ।
-ब्याड राख्ने सतहलाई प्लास्टिक वा केराको पातले छोप्ने। यी सामग्रीहरू बिरुवाको जरालाई माटोमा छिर्न नदिन प्रयोग गरिन्छ।

-सिँचाई गर्दा माटो र बीउहरू बगाउनबाट रोक्नको निम्ति ब्याडको वरिपरि काटिएको केराको पात अथवा काठको प्रयोग गर्नुपर्दछ।

– कुम्याईएको र टुसा पलाएको बीउ प्लास्टिकमा वा केरा पातहरूमा छर्नुपर्दछ।– १ केजी प्रति वर्ग मीटरको दरले बिउको प्रयोग गर्नुपर्दछ र ३ किलोग्राम बीउबाट उत्पादन भएको बेर्ना १ रोपनीमा रोप्न पर्याप्त हुन्छ ।– ११ देखि १४ दिन पछि बेर्ना रोप्नको लागि तयार हुन्छ। बेर्नालाई साबधानीपुर्बक सतहदेखि रोल गरेर उठाउने– उक्त बेर्ना, रोप्नको लागि तयार पारिएको खेतमा लगेर रोप्ने।

४. मोडिफाईड डेपोग विधि
यो विधि डेपोग विधि जस्तै हो। यसमा सबै डेपोगमा गरे जस्तै गरि बेर्ना तयार पारिन्छ।
यो बिधीमा सतहमा केराको पातको सट्टामा प्राय जाली अथावा लाम्खुट्टेको झुलको प्रयोग गरिन्छ। यो बिधी अपनाउँदा बीउ राखेको ८ दिनपछि एकदिनको अन्तरालमा १६औं दिन सम्म ७ ग्राम एमोनियम सल्फेट १ लिटर पानीमा मिसाएर १ वर्ग मिटरमा छर्नुपर्छ। डेपोग बिधीबाट निकालिएको बेर्ना छिटै सारिहाल्नुपर्दछ भने मोडिफाईड डेपोग बिधीबाट उत्पादन गरिएको बेर्ना ब्याडमा २-३ हप्ता पछि सम्म राख्न सकिन्छ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏