नेपालमै अब ‘ब्लाककर्न’ अर्थात कालो मकै खेती यसरि गर्नुहोस् !

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

नेपालीलाई कालो मकै (ब्ल्याक कर्न) नौलो लाग्न सक्छ । सेतो र पहेँलो मकैको खेती गर्दै आएका नेपाली कृषकलाई नौलो लाग्नु स्वभाविक पनि हो । तर, अब भने नौलो मान्नु पर्ने अवस्था छैन ।

नेपालकै विभिन्न भू-भागमा थोरै भए पनि कालो मकैको खेती हुन थालेको छ । विशेषगरी, दक्षिण अमेरिकी देशहरुमा व्यावसायिक खेती हुने ब्ल्याक कर्न नेपाल प्रहरीमा २५ वर्ष सेवा गरेर अवकाश भएका पूर्व एसपी ठाकुरप्रसाद त्रिपाठीले यसको बिउ नेपाल भित्र्याएका हुन् ।

उनले शान्ति मिसन प्रहरी पर्यवेक्षकको रुपमा सुडान जाँदा त्यहाँ खेती गरेको देखेपछि नेपालमा भित्र्याउने योजना बनाएका थिए । र, पछि उनको साथीले त्यहीँबाट कुरियर गरेर नेपालमा ब्ल्याक कर्नको बीउ पठाएको बताएका छन् । हाल उनले आफ्नो घरको कौसीमा ब्ल्याक कर्न रोपेका छन् भने देशभरका कृषकलाई बीउ उपलब्ध गराउने अभियानमा उनि लागि परेका छन् ।

‘ब्ल्याक कर्न’ को अर्थात् कालो मकैको पौष्टिक मात्र साधारण मकैभन्दा उच्च भएकाले यो विशेष रहेको मानिन्छ। ‘ब्लाककर्न’ अर्थात कालो मकै चम्किलो कालो रंगको हुन्छ । यसको भित्री भागमा बैजनी रंगका ‘नानी’ पनि रहेका हुन्छन् । यो मकै सानो अग्लो डाँठ भएको बोटमा घोगा लागेको हुन्छन् । यसका बोटहरु करिब ३ मिटरको उचाइसम्म बढेका हुन्छन् भने यसको घोगोको लम्बाइ २० सेन्टिमिटर सम्म हुन्छ ।

त्यस्तै कलिलो अवस्थामा कालो मकैको रंग सेतो हुने गर्दछ । बढ्दै जाँदा यसले क्रमशःगाढा कालो रंग धारण गर्दछ । कालो मकैले यसको बाहिरी बृद्धिकै अनुपातमा रंग परिवर्तन गर्दछ । कालो मकै स्वादीलो हुन्छ । यसमा मकैको प्राकृतिक गुलीयो स्वाद पनि रहेको हुन्छ ।

कालो मकै गर्मी मौसम भएको स्थानका लागि उपयुक्त मानिन्छ । पहेँलो मकै प्रजाति परिवारको सदस्यनै रहेको कालो मकैलाई बाली विज्ञानले (जिआ) प्रजातिको मकै समुहमा सदियौं दखि खेति प्रणालीमा समेटिएको दाबी गर्दछ । तर प्रणालीगत कृषिमा भने यसले निश्चित भूभाग र क्षेत्र मात्र ओगटेको देखिएको छ ।

कालो मकैलाई विभिन्न स्थानमा फरक फरक नामले चिनिन्छ । वास्तवमा कालो मकै यसको रंग र फरक स्वादका कारणले गर्दा लोकप्रिय बनेको छ । कालो मकैमा ‘एन्थोसिआनिस’ तत्व रहेको हुन्छ । यसले पेटको ज्वलन र वायु नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसमा फलाम, थियामिन, म्याग्नेसियम, फोल्यात, फोस्फोरस तथा भिटामिन ए जस्ता विभिन्न तत्व पनि पाइन्छन् ।

कालो मर्कलाई पोलेर, उसिनेर तथा भुटेर खान सकिन्छ । यो अत्यन्त बहुउपयोगी विशेषता भएको मकै भएकाले यसलाई पहेँलो मकै प्रयोग गर्ने हरेक तरिका र विधिमा प्रयोग गर्न सकिन्छ । बिशेष गरि समशितोष्ण जलवायु भएको क्षेत्र जहाँमध्य र उच्च वर्षाको सम्भावना रहेको हुन्छ, ती क्षेत्रमा यसको खेती सजिलै संग गर्न सकिन्छ ।

हाम्रो देश नेपालको तराई, भित्री मधेश तथा दक्षिणी पहाडी क्षेत्र, उपत्यका र बेंशीहरुमा कालो मकैको खेती गर्न सकिन्छ । यद्दपि यस बारेमा विस्तृत अध्ययन भने भइरहेको विज्ञहरुले बताएका छन् । कालो मकै खेती सम्बन्धि हामीले विज्ञहरु संग अझै थप जानकारी लिने कार्य गरिरहेका छौं । त्यसैले यस सम्बन्धि तपाइको मनमा केहि जिज्ञासा भए कमेन्ट गर्न सक्नुहुने छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏