घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

बजारमा तरकारी मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरीद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेच्दैँ आएका छन्।

अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या परेको छ। उपभोक्ताले तरकारी किलोमा होइन पाउमा मात्रै सोध्नुपर्ने बाध्यता भइसकेको छ।

तरकारीको मूल्य पसलै पिच्छे फरक फरक हुन्छ। महंगो गरी किनेको तरकारी पनि स्वस्थकर हुँदैन। नत यसको स्वाद हुन्छ नत स्वस्थकर नै। विशेष गरेर सहरका बासिन्दालाई विषाधीयुक्त तरकारीले स्वास्थ्यमा गम्भीर समस्या पार्ने खतरा बढ्दै गएको छ।

तरकारीको गुणस्तर नाप्ने कुनै निकाय छैन। बेलाबखत अनुगमन त गरिन्छ तर यसले निरन्तरता पाउँदैन। यस्ता समस्याबाट बच्न आफैँ सतर्क हुनुनै उत्तम हुन्छ। सहरमा आफ्नै घर हुनेले कौसी खेती गर्न सके तरकारीका लागि बजारको भर पर्नुपर्ने कम हुन्छ। साथै स्वस्थ्यकर र अर्गानिक तरकारी घरमै फलाउन सकिन्छ। घरमा थोरै मात्र खाली ठाउँ छ भने पनि गमलामा तरकारी लगाएर त्यो जग्गाको सदुपयोग गर्न सकिन्छ।

के हो कौसी खेती ?

कौसी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौसी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौसी खेती गर्न सकिने कौसी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले सेतोपाटीलाई बताए।

‘हामीले परम्परागत तरिकाले कौसी खेती गर्दा माटो अथवा सिमेण्टका गह्रौं–गह्रौं गमला छतमा राखेर गरिन्थ्यो। यसमा धेरै तौल भएकाले घरलाई असर पर्ने, भूकम्पको समयमा खस्न सक्ने हावाहुरीको समयमा अरू समस्या आउनसक्ने हुन्थ्यो। अहिलेको नयाँ प्रविधि अन्तर्गत गमलामा तरकारी खेती गर्दा यो समस्या आउँदैन,’ उनले भने।

अहिले गरिने कौसी खेती इजरायलबाट भित्रिएको हो। ‘मैले इजरायल बस्दा यस्तो काम गरेको थिएँ। यसमा पिभिसि अथवा पोली ब्याग वा गमलामा नरिवलको जटाको धुलो (कोकोपिट) राखिन्छ,’ उनले भने, ‘बिरुवालाई आवश्यक मलखाद कम्पोष्ट मल या रसायनिक मल, पोटासहरू हालेर बिरुवा सार्न सकिन्छ।’

यो नयाँ तरिकाले खेती गरेमा बिरूवा बढ्न सहयोग पुर्‍याउँछ। कोकोपिट आफैँमा खुकुलो चिज भएकाले यसले जरा बढ्न र जरालाई अक्सिजन लिनलाई सहयोग गर्छ।

कसरी गर्ने कौसी खेती?

गमलामा कोकोपिट र मलखादको सम्मिश्रण गराएर तरकारीको बिरुवा लगाउन सकिन्छ। एकपटक प्रयोग गरेको कोकोपिटलाई तीन चार पटकसम्म प्रयोग गर्न सकिने अधिकारीको भनाई छ। ‘कोकोपिटमा अरू मलखाद थपेर हामीले तीन चार पटकसम्म प्रयोग गर्न सकिन्छ। यसो गर्दा झार नउम्रिने थोरै पानीमा पनि चिस्यान रहिरहने हुँदा कौसीमा तरकारी खेती गर्दा राम्रो हुन्छ,’अधिकारीले भने।

बढ्दो छ यसको प्रयोग

अहिले कौसी खेती गर्ने क्रम दिनहुँ बढिरहेको छ। ‘जसले कौसी खेतीबारे बुझ्नुभएको छ उहाँहरूले निरन्तरता दिनुभएको छ। पाँचवटा गमलामा तरकारी खेती गर्नेले अहिले दशदेखि पन्ध्र वटासम्मा गरिहरेका छन्,’अधिकारीले आफ्नो अनुभव सुनाए।

गमलामै अब धनियाँ, साग जस्ता तरकारी लगाएर खान सकिने रहेछ भन्ने सहरमा घर भएकालाई परिसकेको छ। धेरैले यसको प्रयोग गरिरहेका पनि छन्। गमलामा तरकारी लगाए भान्साका लागि चाहिने कम्तीमा चालिस प्रतिशत तरकारी बजारमा किन्न नपर्ने अधिकारीको दाबी छ।

‘दैनिक प्रयोगमा आउने धनियाँलाई हामी बाह्रै महिना कौसीमा लगाउन सक्यौं भने बजारमा किन्न जानुपर्देन। चुँढेर काटेर हामीले पटक/ पटक धनियाँको प्रयोग गर्न सक्छौँ। त्यसैगरी, सागजन्य सबै चिजहरू हामीले लगाउन सक्छौँ। पाकचोय (चाइनिज साग), रायोको साग मुलाको साग, तोरीको साग कुनैपनि किसिमका सागहरू कौसीमा लगाउन सकिन्छ।

दुई चार बोट गोलभेँडा, खुर्सानी लगाउन सकिन्छ। यस्ता किसिमका तराकारीका लागि हामीले पसलमा किन्न जानु नपर्ने हुन्छ। त्यसका लागि कौसीमै उत्पादन गर्न सक्छौँ। साग, धनियाँ, प्याज, लसुन, गोलभेँडा क्याप्सिकोन हामीले कौसीमै लगाउन सकिन्छ। अलि ठूलो खालको प्लान्टर ब्यागमा हामीले थाक्रा दिन सक्ने भए घिरौला करेलासमेत लगाउन सकिन्छ। त्यसैगरी चाइनिज फर्सीसमेत लगाउन सकिन्छ।

कौसी खेती गर्दा कति लाग्छ खर्च?

एउटा गमलाको ५० देखि २ सय रूपैयाँसम्म पर्छ। प्लान्टर ब्यागमा तरकारी लगाए २० रूपैयाँदेखि २५ रूपैयाँसम्म पर्छ। त्यसमा मल खाद र विरूवाका लागि थप ५० रूपैयाँसम्म खर्च हुन्छ।

‘गमलामा गर्नेकी ब्यागमा गर्ने त्यसमा भरपर्छ गमलामा गर्ने हो भने गमलाको मूल्य २ सय रुपैयाँ परेपनि चार वर्षसम्म प्रयोग गर्न सकिन्छ। यदि २ सयको गमलामा तरकारी लगाएमा २ सय ५० रूपैयाँ खर्च हुन्छ। एक सय रूपैयाँको गमलामा १ सय ५० रुपैयाँ खर्च हुन्छ। गमला कस्तो खालको प्रयोग गर्ने हो त्यसमा भरपर्छ, ’ अधिकारी भन्छन् ।

कोकोपिट खाँदिएर आएको हुन्छ त्यसलाई चिस्याउन पर्छ। भिजाएपछि त्यो फुल्छ अनि त्यसमा बिरुवालाई चाहिने आवश्यक मलखाद भरेर राख्नुपर्छ। त्यसलाई एकै ठाउँमा मिलाएर मोल्दै गमलामा भर्नुपर्छ। ५० रूपैयाँको गमलामा पनि गर्न सकिन्छ। बिरुवालाई उमेर अनुसारको मलखाद पु्‍र्‍याउँदै जानुपर्ने अधिकारीको सुझाव छ। त्यसको लागि सानो गमलामा पनि खेती गर्न सकिन्छ।

‘कोकोपिट थरी थरीको पाइन्छ एक खालको कोकोपिट अलि कमसल खालको छ। नरिबलको जटा रेसाहरू अलि धेरै हुन्छ। एक केजीको ६० रूपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्छ। एक केजी कोकोपिटमा पानी हालेपछि त्यो फुलेर ८ केजीसम्म हुन्छ। त्यति कोकोपिटले तीन वटासम्म सय रुपैयाँ पर्ने गमलामा भर्न सकिन्छ,’ अधिकारीले भने।

तरकारी रोपेको गमला घरको जुनसुकै ठाउँमा पनि राख्न सकिन्छ। सूर्यको किरण पुगेको जुनसुकै ठाउँ पनि यसका लागि उपयुक्त हुन्छ।

कौसी खेती अभियान नै चलाउनुपर्छ

कौसी खेतीलाई अभियानका रुपमा चलाउनुपर्ने अधिकारिको तर्क छ। ‘गमलामा खेती त सबैले गरेका छन्। तर, यस्तो प्रविधि प्रयोग गरेर तरकारी खेती गर्दा सुरूवातमा लगानी अलिकति धेरै लागे पनि यसले विस्तारै लगानी उठाउँदै जान्छ,’ अधिकारी भन्छन् ‘यसले व्यक्तिको घाटा त कम गर्छ नै अन्ततः सरकारलाई पनि यो घाटा कम हुँदै जान्छ।’

कौसीमा तरकारी खेती गर्ने सरकारी तवरबाटै प्रयास थाल्नुपर्ने अधिकारीको भनाई छ। ‘सरकारले गमला, कोकोपिट र मलखादमा अनुदान दिएर सहरका उपभोक्तामाथि लगानी गरे तरकारीका लागि आत्मनिर्भर बन्न सहयोग पुग्छ।’

उनले सहरका हरेक घरमा खाली रहेको जग्गा र छतमा गमला राखेर तरकारी खेती गर्ने अभियान सुरू गरे तरकारीमा गरिने खर्च केही हदसम्म कम हुने बताए।

स्वस्थ्य र विषादीरहित अर्गानिक तरकारी आफ्नै घरमा फलाउन सके तरकारीको परनिर्भर कम हुन्छ। यसले घरको सौन्दर्य पनि बढाउँछ र आर्थिक घाटा पनि कम गर्न सहयोग गर्छ। यो खबर हामीले सेतोपाटी संवाददाताबाट लीएका हौ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏