नेपालमा कति लाख सलह पसे, कति महिना बस्छन् ? विज्ञले दिए यस्तो सुझाव

कृषि पोष्ट संवाददाता

काठमाडौं, १४ असार ।

भारतको वाटो हुँदै नेपाल भित्रिएको सलह किरा एक महिना सम्म नेपालमा बस्न सक्ने विज्ञहरुले अनुमान गरेका छन् । नेपालमा बारावाट नेपालमा सलह प्रवेश गरेको हो । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको यो किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने भएकाले नेपालमा एक महिना सम्म सलहको जोखिम हुन सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा। डिल्लीराम शर्माले बताएका छन् ।

सलहलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने भएकाले नेपालमा धेरै समय विताउन नसक्ने उनको दावी हो । सलहलाई बच्चा बनाउन बालुवा र तातो मौसम आवश्यक पर्ने भएकाले सलह बच्चा बनाउन राजस्थान जानुपर्ने उनले बताएका छन् । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्ने उनको भनाई छ ।

सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए। नेपालमा बढीमा ४ लाखको समुहमा सलह प्रवेश गरेको पनि विज्ञको भनाई छ । बढिमा सलहको बथान १० करोडको समेत हुने गरेको छ ।

नेपालमा सानो झुण्ड भएका कारण त्यती धेरै डराउनुपर्ने अवस्था नरहेको पनि विज्ञको भनाई छ । उनले सरकारले वि’षादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको उल्लेख गरे।

सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको छ । स्थानियबासीन्दाले सलह नेपालमा प्रवेश गरेको भिडियो सार्वजनिक गरेका छन् । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले सबेरै ५–६ बजेको समयमा नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏