किसानलाई टिप्स : आलु खेती र यसको तयारी

कृषि पोष्ट संवाददाता

आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकांस देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाइन्छ ।

आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु बनाउन सकिन्छ । नेपालमा पनि आलुको उत्पादन उल्लेख्य रुपमा रहेको छ । नेपालमा खेति किसानी गर्ने हरेक परिवारले आलु लगाउने सिजनमा आलुको खेति नगरेको कमै हुन्छ ।

आलु खेतीका लागि आवश्यक तौरतरिका र अपनाउनुपर्ने सजगकताका बरेमा केही अति आवश्यक जानकारी:

१. आलुका लागि उपयुक्त माटोः

आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खनजोत गरी माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढी सुख्खा माटो भएमा सिंचाई गर्न सकिन्छ तर सिंचाई गरेको ३ देखि ५ दिनसम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्रा आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।

२. जग्गा तयारीः
आलु लगाउने खेत वा बरीलाई २ देखि ३ पल्टसम्म गोड्नु पर्छ । गोडी सकेपछि त्यसमा खनजोत गरी भएका ठूला ठूला डल्लाहरुलाई फुटाई मसिनो बनाउनु पर्छ ।

३. मलको प्रयोगः
आलु रोप्नुभन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपर्छ । यसपछि आलु लगाउने समयमा ड्याँगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गर्न सकिन्छ । आलुमा विषेश गरी नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४. सिंचाईः
आलुलाई फसल तयार हुन्जेलसम्म ३ देखि ५ पटकसम्म सिंचाई गर्न सकिन्छ । सिंचाईको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर रहने वैज्ञानिकहरुले बताएका छन् । माटोको संरचना अनि माटोको तापमान अनुसार सिंचाई गर्न वैज्ञानीकहरुको सुझाव छ । आवश्यकताभन्दा बढी सिंचाई भए आलुको फल कुहिएर नष्ट हुने डर हुने भएकोले आलुको सिचाई गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

५. आलु खन्नेः
आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै बिग्रने र कुहिने डर बढी हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सबैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।

६. आलु खेतिमा आउने समस्याहरुः

आलु फलाउन जति सजिलो छ त्यसभन्दा धेरै गाह्रो यसलाई बचाई राख्न हुन्छ । आलुको तापक्रम मिलाउन नसके कुहिने डर बढी हुन्छ । यसमा रहेको माटो र चिसोपनालाई खनिसकेपछि विशेष व्यवस्थापन गर्न सकिएन भने कुहिन्छ । यतिमात्र हैन आलुमा विशेष प्रकारको किरा लाग्ने गर्दछ जसले भित्रभित्रै खाएर कालो रेखा बनाउँछ । जसले आलु खान योग्य हुँदैन । आलुको बीउ छनौटमा पनि हामीले विशेष ध्यान दिन सकेनौ भने पनि यसको उत्पादन राम्रो लिन सकिँदैन । आलुमा लाग्ने विभिन्न रोगहरु हुन्छन त्यस्ता रोगबाट बचाउनका लागि नजिकैको जेटिए, सेवाकेन्द्रका कर्मचारी वा कृषि विकास कार्यालयमा सम्पर्क गर्ने गर्नु पर्छ ।

आलुको सुरक्षाः
आलु खनिसकेपछि भण्डार गर्ने स्थानमा लैजानुभन्दा पहिले घाम नपर्ने सुख्खा स्थामा राख्ने । यसपछि इमी डाक्लोरेपिड १७ दशमलव ८ लाई ५ लिटर पानीमा मिलाई आलुको दानामा छर्कने । यस्तो प्रक्रिया प्रत्येक दुर्इृदुई महिनामा गर्नुपर्ने वैज्ञानिकहरुले जनाएका छन् ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏