एक सातामा तरकारीको भाउ दोब्बर बढ्यो, मारमा उपभोक्ता

कृषि पोष्ट संवाददाता

काठमाडौं, २७ भाद्र ।

लगातारको झरीका कारण चाडपर्व नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा तरकारीको भाउ ह्वात्तै अकासिएको छ। वर्षातसँगै गएको पहिरोले राजधानी छिर्ने सडक अवरुद्ध हुँदा तरकारीको मूल्य एक सातामै झण्डै दोब्बर महङ्गो भएको हो।

हरेक वर्ष तीज नजिकिँदै जाँदा तरकारीको भाउ यसै गरी महंगो हुने गरेको छ। तरकारीमा भएको मूल्यवृद्धिले उपभोक्ता भने मारमा परेका छन्। दोलखा स्थायी घर बताउने हाल तीनकुने बस्दै आएकी गृहिणी तारा मगरले भनिन्, ‘खोइ किन हो, अचाक्ली महंगो भो एक सातामै। महंगो भए पनि राम्रो तरकारी पाए पनि हुन्थ्यो नि, भाउ दोब्बर छ तर सामान चाहिँ कुहिएको।’

घर धान्नै मुस्किल परेको बताउँदै उनले सुनाइन्, ‘अहिले मारमा परेका छौँ। पहिला एक छाकमा पाक्ने तरकारीले अहिले तीन छाक टार्नुपर्ने अवस्था छ।’

नुवाकोट घर भई शान्तिनर बस्ने अर्की उपभोक्ता सरिता भण्डारीको पीडा पनि कम छैन। उनले भनिन्, ‘महँगीले कम आम्दानी भएका हामीजस्तालाई भान्सा चलाउनै निकै मुश्किल छ। भाउ बढ्दा वर्षा र पहिरोको कारण देखाउँछन्, फेरि बाटो खुलेपछि पनि घट्दैन। अब तीज आउन लाग्यो। दशैँ नआउञ्जेल यस्तै हो महंगी।’

एक साताको अवधिमा गोलभेँडाबाहेक हरेकजसो तरकारीमा झण्डै दोब्बर मूल्य बढेको छ। अघिल्लो शुक्रबार ४० रुपैयाँ हाराहारीमा भएको भिन्डी एक सातामा एक सय रुपैयाँ नाघेको छ।

कागती प्रतिकिलो २०० सय रुपैयाँले बढेको छ। त्यसबाहेक बाँसको तामा १५० बाट २५० रुपैयाँ भएको छ। बोडी, परवर, बन्दागोवी, सिमी, काउली, कागती, फर्सी, मूला, सागलगायतका तरकारीको मूल्य ह्वात्तै बढेको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏