के तपाई अकबरे खुर्सानी खेती गरेर लाखौ कमाउन चाहानुहुन्छ ? सम्पुर्ण जानकारी सहित

कृषि पो्ट संवाददाता

काठमाडौं ।

खुर्सानी त हामीले धेरै थरिका खाएका छौ र खाएका मध्ये पनि हामिले धेरै याद गर्ने चै अकबरे खुर्सानी हो । हेर्दा अरु खुर्सानी जस्तो ठूलो नदेखिएता पनि यस्को महत्त्व भने ठूलो छ । बजारमा यस्कै माग धेरै छ । यस्को अचार मन पराउने जमात पनि धेरै छन् । नेपालमा अकबरे खुर्सानी खेतीबाट धेरै ले मनग्ये आम्दानी पनि गर्ने गरेका छन् । नेपालमा यसलाई विभिन्न ठाउँअनुसार डल्ले, ज्यानमारा, रागे र अकबरे खुर्सानीका रूपमा चिनिन्छ । विशेष गरेर पश्चिमाञ्चल क्षेत्रहरूमा डल्ले र ज्यानमारा खुर्सानीका रूपमा चिनिन्छ भने पूर्वाञ्चल क्षेत्रका पहाडी भेगहरूमा अकबरे खुर्सानीका रूपमा चिनिन्छ । अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए”, “सि” लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज तत्वहरू तथा अन्य पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । नेपालको लागि वर्सेनि ७२,००० टन खुर्सानीको आवश्यकता पर्दछ तथा वर्सेनि #भारतबाट हरियो खुर्सानी रु १३ करोड र सुकेको रु ३५ करोडसम्मको आयात हुने गरेको पाइन्छ । नेपालमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती पूर्वाञ्चलको इलाम, तेह्रथुम र भोजपुरमा गरेको पाइन्छ भने कृषकहरूले निजी प्रयोग र जिल्लाभित्र खपतको लागि भने खोटाङ, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गालगायतका जिल्लाहरू मा केही उत्पादन गरेको पाइन्छ । पहाडमा कार्तिक-फागुनमा बीउ राख्ने, फागुन-चैतमा बेर्ना सार्ने र जेठ-असारमा बाली लिन सकिन्छ भने तराईमा साउन भदौमा बीउ राख्ने, भदौ असोजमा बेर्ना सार्ने र मंसिर,फागुनमा बाली लिने गरिन्छ ।

खुर्सानी खेती गर्नको लागि यि कुराहरु जान्न आबस्यक पर्छ-

१.कस्तो हावापानीमा यस्को खेती गर्न सकिन्छ ?साधरणतया गोडमेला खेती जस्तै हावापानी यसका लागि उपयुक्त हुन्छ । त्यसमा पनि यसको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री से. र रातीको तापक्रम १५–२० डि.से. उपयुक्त हुन्छ । तथापी त्यसभन्दा घटी वा बढीमा पनि उतपादन गर्न सकिन्छ । तर सेपिलो तथा पानी जम्ने स्थान र बढी आद्रता भएको ठाउँमा भने उत्पादन गर्न धेरै कठिन हुन्छ ।

२.खुर्सानी खेती गर्नको लागि माटो कस्तो चाहिन्छ ?साधरणतया सबै खाले माटो उपयुक्त भएपनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दोमट तथा केही चिम्टाईलो माटो समेत उपयुक्त हुन्छ । माटोमा प्रशस्त प्राङ्गारीक मल मिसिनुका साथै माटोको पि.एच.६–७ सम्म हुनुपर्छ । भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीका लागि उपयुक्त हुन्छ ।

३.एक रोपनी जमिनको लागि कति बीउ चाहिन्छ ?
एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति विरुवा उम्रे पनि १२०० बिरुवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।

४.बीउ छर्ने र बेर्ना उमार्ने तरिका के हो ?
बीउ छर्ने र बेर्ना उमार्ने तरिकाको तयारी जमिनमा चौडाइ पट्टिबाट ४ ईन्चको फरकमा लाईन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १÷१ दाग बीउ खसाल्ने ।उक्त बीउ हल्का बालुवा, खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल÷झारले छोप्ने माटोको अवस्था हेरी सिँचाई गर्ने । तर बढी चिसोपन भएमा बीउहरु कुहीनेहुँदा पानी जम्न दिनु हुँदैन । बिरुवा उम्रिएपछि छापो झिकिदिने र हरेक सात दिनको फरकमा आवश्यकता अनुसार ढुसीनासक किटनासक विषादी छर्ने । यसरी बिरुवा अगौटे हो भने ३÷४ महिना र पछौटे हो भने १÷२ महिनामा बेर्ना तयार हुन्छ । यदि बेर्ना कमजोर पहेंलो भएमा बेर्नामा नै भिटामीन, मल्टिप्लेक्स, भेजिमेक्स आदि लगायत युरिया २ ग्राम प्रति लि. पानीमा स्प्रे गर्ने ।

५.खुर्सानी को बिरुवा लगाउने कसरी होला ?
२ – ३ पटक राम्रोसँग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नुपर्छ । माटो चिम्टाइलो भएमा पानीको निकासको व्यवस्था मिलाउनुपर्छ । जग्गा तयार भएपछि माथि उल्लेखित मलहरू बराबरसँग छरी माटोमा राम्रोसँग मिलाउनुपर्छ । बेमौसमी उत्पादनका लागि भने वर्षाको मौसममा खेती गरिने भएकोले वर्षाको पानीबाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लास्टिकको छानो बनाउनु आवश्यक पर्दछ । वर्षाको चिस्यानबाट जोगाउन जमिनको सतहभन्दा ३० से.मि. अग्लो ब्याड बनाउनुपर्छ । प्लास्टिकको छानो लगाई टहरो बनाउँदा लम्बाइ १० मिटर लामो र चौडाइ ५ मिटरको वा पहाड र मधेसको जमिनको अवस्था हेरी सानो–ठूलो बनाउनुपर्दछ । बहु–वर्षीय उत्पादन गर्नको लागि वर्षामा सकेसम्म पानी नजम्ने ठाउँ हेरी लगाउने र केही गरी जम्ने ठाउँ पर्न गएको खण्डमा ३० से.मि. उच्चा ड्याङ बनाई लगाउने र हिउँदमा तुषारो पर्ने ठाउँ भएमा छाप्रोका साथमा फेदको वरिपरि झारपातको छापो पनि दिनुपर्दछ ।
१ कम्पोस्ट १ (के.जी.) २. डी.ए.पी. १० प्रतिबोट (ग्राम) ३. पोटास ५(ग्राम) ४. युरिया १० (ग्राम) ५. जिंक १ (ग्राम) ६. बोरेक्स १ (ग्राम)
यी सबै मल बेर्ना सार्नुभन्दा ७–८ दिन पहिले जमिन तयार गर्ने बेलामा हरेक बेर्नाका लागि (१ फिट ह १ फिट ह १ फिट) १ घन फिटको खाल्डो बनाई माटोमा मिसाएर खाल्डो भर्ने । मल दिएपछि माटो सुख्खा छ भने हल्का सिंचाइ गर्ने ।

खुर्सानी मा लाग्ने रोगहरु-

१.डढुवा÷ढुसीबाट हुने रोग बाट कसरी बचाउने ?
पातमा डढेजस्तो लक्षण देखिन्छ । सुरुमा पानीले भिजेजस्तो हल्का खैरो भई पछि गाडा खैरो वा कालो रङ्गमा परिणत हुन्छ । अनुकुल वातावरणमा त्यस्ता थोप्लाहरु वृद्धि भई बोटलाई डढाई दिन्छ । ओसिलो अवस्थामा फलको तल्लो सतहमा सेतो ढुसी देखिन्छ । फलमा खैरो कालो दागहरु देखा पर्दछन्। बेर्नामा डाँठ कुहिएको लक्षण देखापर्छ ।

2.व्यवस्थापन विधि के हो ?
स्वास्थ्य बीउ मात्र प्रयोग गर्ने । कार्बान्डाजीम, बेभिष्टिन २ ग्राम प्रतिकिलोको दरले बीउ उपचार गर्ने । रोग लागेका बोटहरु हटाउने जलाउने खेत सफा सुग्घर राख्ने, रोग शुरु हुने बेलादेखि कपर अक्सीक्लोराइड, ब्लाईटक्स, मेन्काजेब डाईथेन ४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने ।

३.एन्थ्राक्नोज (कोत्रेरोग)
बोटको टुप्पा माथिबाट सुक्दै आउँछ । यसले गर्दा पुरै हाँगा सुकेर मर्दछ । बोटको डाँठहरुमा काला काला स–साना गिर्खाहरु देखिन्छन्। विस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्छ । अर्काे किसमको फलमा काला दागहरु लागि फल सड्छ । यस्ता दागहरुमा थुप्रै काला गिर्खाहरु देखिन्छन्।

४.व्यवस्थापन÷ रोकथाम
रोगी फलका बोटहरुबाट बीउ नराख्ने, क्याप्टन, धानुटान विषादिले बीउ उपचार गर्ने । खेत सफा राख्न,े रोग लागेका पुराना बोटहरु जलाई नष्ट गर्ने । रोगको लक्षण देखापर्नासाथ कपर अक्सिक्लोराईड, ब्लाईटक्स ५० वा मेल्कोजेब, डाइथेन एम. ४५÷३ ग्राम प्रतिलिटर पानीमा मिसाई ७÷७ दिनको फरकमा ३ पटक छर्कने ।

५.ब्याक्टेरियाबाट हुने ओइलाउने रोग
बोटहरु सर्लक्क ओईलाएको देखिन्छ । त्यस्तो बोटलाई सफा पानीमा डाँठ डुबायो भने सेतो संकाणु निस्केर पानीमा घोलिन्छ र धमीलो देखिन्छ ।

६.व्यवस्थापन विधि
सोलानेसी परिवार बाहेक अन्य बालीसँग घुम्ती बाली लगाउने । रोग अवरोधक जात लगाउने ।फमार्लिन १० एम.एल. प्रतिवर्गमिटरमा माटोको उपचार गर्ने र १० ग्राम फोरेट राखी प्लाष्टिकले ३ दिनसम्म छोपीदिने चैत्र वैशाख घाममा खेत जोतेर छोड्ने र जमीनमा सोतर
झारपात राखी जलाई दिने ।

७.सेतो धुले रोग
यो ढुसीबाट लाग्ने रोग हो । न्यानो सुख्खा मौसममा हावाबाट सर्ने रोग हो । पातहरुमा पिठो जस्तो सेतो धुलोले ढाक्दछ ।यसको रोकथाम गर्न क्याप्टान वा थिराम २.५ प्रतिकिलो बीउ उपचार गर्ने । क्याप्टान वा थिराम २.५ ग्राम÷लिटर पानीमा नर्सरीमा छर्ने ।

फल कहिले बाट टिप्न सुरु गर्दा हुन्छ?

खुर्सानीको फल टिप्ने एकै पटक परिपक्व नहुने भएकोले फल टिप्न शुरु गरेपछि २–४ महिना सम्म लगातार टिपिरहन सकिन्छ । एकपटक टिपिसकेपछि कम्तिमा १०–५ दिन सम्म पुनः फल टिप्नु हुँदैन र फेरी तयार हुन्छ । अकबरेको हकमा प्रति रोपनी ५०० देखि ८०० कि.ग्रा.उत्पादन हुन्छ र प्रति के.जी. २०० – ३५० सम्ममा विक्री हुनेगरेको पाईएको छ । प्रति रोपनी ३००० देखि ७००० लगानी गर्दा १ लाख देखी ३ लाख सम्म लिन सकिने देखिन्छ ।

खुर्सानीको बजार व्यवस्थापन कस्तो छ ?

खुर्सानी ठिकसँग समयमै टिपेर लामो दुरीमा पठाउन चोया वा प्लाष्टिकको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २०–३० के.जी. भन्दा बढी नराखी पठाउनु पर्छ । ज्यादा पाकेको र चिसो मिसाउनु हुँदैन । मूल्य निर्धारण समय अनुसार फरक हुने भएपनि वैशाख जेष्ठ र असोज कार्तिक महिनामा बढी मूल्यमा किनबेच भएको पाईन्छ । अकबरे खुर्सानीको सुकेको भन्दा
पाकेको तर न सुकाएकोले राम्रो बजार मुल्य पाउँछ । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्टिक तत्वहरु बढी प्राप्त गर्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏