नेपालमा यसरी शुरुभयो टनेल खेती – डा केदार बुढाथोकी

कृषि पो्ट संवाददाता

काठमाडौं ।

प्लाष्टिक बिना तरकारी खेती नहुने युग आएको छ । खेतबारीमा प्लाष्टिकको टनेल देखियो भने बुझ्नुपर्छ, त्यस भित्र तरकारी खेती भइरहेछ । प्लाष्टिकको टनेल अर्थात् ग्रीन हाउस नेपालमा ब्यापक बनेको हो २०५६ देखि । र, यसलाई देशव्यापी फैलाउन ठूलो योगदान छ डा. केदार बुढाथोकीको ।

अहिले तराईदेखि हिमालसम्म प्लाष्टिकको टनेलमा खेती हुन्छ । डा. केदारले यो अवधारणा वेलायतबाट नेपाल भित्राउनुभएको थियो ।वेलायतमै कृषि विषय पढ्नुभएको थियोे डा. केदारले । पछि बारम्बार वेलायत जानुभयो । त्यसबेला उहाँ कृषि अनुसन्धान परिषद्मा काम गर्नुहुन्थ्यो । वेलायतमा उहाँले देख्दादेख्दै कृषिका अनेक नयाँ प्रविधि फैलिए ।

डा. केदार भन्नुहुन्छ– ‘मैले देख्दादेख्दै वेलायतले पूराना धेरै प्रविधि विस्थापित गर्यो, खेती गर्ने नयाँनयाँ तरिका निकाल्यो । वेलायतमा टनेल खेती लोकप्रिय भएको देखेपछि मैले पनि नेपालमा यसलाई व्यापक बनाउने उद्देश्यले परीक्षण गरें ।’ चीसो वेलायतमा तरकारी खेती गाह्रो काम थियो । वेलायतीहरुले खेतबारीमा प्लाष्टिकको ठूलाठूला घर बनाउँथे, त्यसभित्र खेती गर्थे । यसो गर्दा चीसोले बिरुवा मर्दैनथ्यो, तापक्रम पनि पर्याप्त हुन्थ्यो र बाली फस्टाउँथ्यो ।

गज्जब लाग्यो डा. केदारलाई यो तरिका । नेपालमा पनि यस्तै तरिकाले खेती गर्न मन लाग्यो उहाँलाई । नेपाल फर्किएपछि टनेलमा खेती गर्ने उपाय खोज्नुभयो । उहाँले कृषि अनुसन्धान परिषद् खुमलटारमा प्लाष्टिक टनेल बनाउनुभयो । त्यसबेला टनेल बनाउन लायक प्लाष्टिक धेरै पाइँदैनथ्यो । नेपालमा सीमित ठाउँमा कतिपयले खेती गर्न प्रयास गरेका पनि थिए । तर, टनेलको लागत धेरै पर्ने र उत्पादन थोरै हुने हुनाले टनेलले ब्यापकता पाएको थिएन ।

ग्रीन हासको नमूना गोदावरी बोटानिकल गार्डेनले पहिले नै बनाइसकेको थियो । त्यहाँ फूल खेती हुन्थ्यो । त्यो सरकारी थियो, तरकारी खेती पनि थिएन ।

डा. केदारलाई तरकारी खेती गर्न लायक टनेल बनाउनु थियो । त्यसैले उहाँले बाँस र प्लाष्टिक प्रयोग गरेर सस्तोमा टनेल तयार पार्नुभयो । खेती गर्नुभयो । तरकारी फलाएपछि टनेलको लागत र उत्पादन मूल्य हिसाब गर्नुभयो । नाफै नाफा देखियो ।

त्यसपछि हो उहाँले टनेल खेतीको प्रचार गर्न थालेको । यसका लागि सरकार पनि अगाडि सर्यो । विभिन्न संघसंस्था पनि अगाडि सरे ।

सुरुमा त कृषकले महंगो हुन्छ भनेर खेती गर्न मानेनन् । जजसले खेती गरे, उनीहरुको बाली राम्रो भयो । बालीमा कीरा लागेन, रोग पनि पहिले जति धेरै लागेन । चर्काे घाम र धेरै वर्षाबाट बालि जोगियो । प्लाष्टिकको घरभित्र बालीविरुवाले पर्याप्त तापक्रम पनि पाए । त्यसैले कृषकले पहिलेभन्दा धेरै उत्पादन पाउन थाले । तरकारीको गुणस्तर पनि राम्रो भयो ।

खुला आकाशमा गरिएको तरकारी खेतीभन्दा प्लाष्टिकको टनेलमा गरिएको खेतीले धेरै उत्पादन दियो । प्रविधि कति फैलन्छ भन्ने आम्दानीले निर्धारण गर्छ । टनेल खेतीले राम्रो आम्दानी दिन्छ भन्ने प्रचार सुरु भयो । सुरुमा गाउँमा एकदुईजनाले टनेल खेती गरेका थिए । उनीहरुले पाएको आम्दानी देखेपछि अरुले पनि त्यसै गर्न थाले । टनेल खेती फैलँदै गयो ।

खासगरी पहाडी र हिमाली क्षेत्रमा टनेल खेती तिब्र गतिमा फैलियो । पहाड प्लाष्टिकमय बन्न थाल्यो । टनेल बनाउनका लागि उपयुक्त किसिमको प्लाष्टिक बनाउन कम्पनीहरुले प्रतिस्पर्दा गर्न थाले । गाउँगाउँमा टनेल बनाउने प्लाष्टिक बेच्न व्यापारीहरु पुग्न थाले । अर्थात्, नेपालका खेतबारी टनेल नै टनेलको बन्न थाल्यो । तरकारी खेतीको अर्काे नाम टनेल खेती हुन थाल्यो । अन्नबाली खुला रुपमा खेती गर्ने, तरकारी खेती टनेलमा गर्ने चलन सुरु भयो ।

१७ औँ सताब्दीमा नेदरल्याण्डस् र वेलायतमा विकास गरिएको ग्रीन हाउस प्रविधि नेपालमा व्यापक बन्न अढाई सय पर्खनुपर्यो । अहिले काठमाडौं उपत्यकादेखि पहाड हिमाल र तराईमा पनि केही हदसम्म टनेल खेती फैलिएको छ । टनेल खेती यसरी फैलिएको देख्दा कस्तो लाग्छ ? डा. केदार भन्नुहुन्छ– ‘आनन्द लाग्छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏